साहुको जबर्जस्तीले बस दुर्घटना
विराटनगरका लागि यात्रु बोकेर शुक्रबार साँझ काठमाडौंबाट छुटेको शुभश्री ट्राभल्सको ना४ख ५४४८ नम्बरको बस पृथ्वी राजमार्ग काटेर महेन्द्र राजमार्ग छिचोल्दै थियो।
राति ११ बजे चितवन, रामनगरमा बस खाना खुवाउन रोकियो।
निन्द्रामा झुल्दै आएका यात्रु ओर्लिए र खाना–नास्ता मगाएर खान थाले। बसका चालक करिब २६ वर्षीय रोशन तामाङ, गाडीका साहु नवीन रेग्मी र दीपक (थर नखुलेको)ले खानासँगै रक्सी पिए।
खाना खाँदाखाँदै चालक तामाङले साहुसित भने, 'आज म गाडी लैजान सक्दिनँ, मलाई सन्चो छैन, यात्रुहरुलाई अर्को गाडीमा पठाइदिउँ कि।’
नवीन झोक्किए, ‘जसरी पनि विराटनगर पुग्नैपर्छ आज, बरु तँलाई भोलि छुट्टी दिउँला, चाँडो हिँड्!’
चालकले फेरि भने, ‘हैन, म चलाउनै सक्दिनँ, सन्चो छैन, जसलाई लाने हो लैजानू, म सक्दिनँ।’
नवीनले तामाङलाई थर्काउँदै भने, ‘बढी नकरा, सक्दिनँ भनेर हुन्छ? खुरुक्क हिँड्, भोलि मिलाउँला भनेपछि के कराइ’रा?’
चालक र साहुबीचको चर्काचर्की खाना खाइरहेका यात्रु र होटलवाला वाल्ल परेर सुनिरहेका थिए, आजको नागरिक दैनिकमा खबर छापिएको छ। मदिराले मात्तिइसकेका चालक रिसले फनफनिँदै गाडी चढे। काठमाडौंबाट रामनगरसम्म सामान्य गतिमा आएको गाडीले अचानक तीव्र गति लियो।
बससँगै चालक र साहुबीचको भनाभन पनि चलिरह्यो। पूर्वी चितवनको टाँडीमा ओर्लनुपर्ने यात्रुले गाडी रोक्न भने। ‘रोक्दिनँ, तिमीहरुलाई विराटनगर जानुपर्ने होइन? सिधै विराटनगर पुगेर रोक्छु,' चालकले सन्किँदै गाडी हुइँक्याइरहे। गाडीको गति सडकले धान्नै नसक्ने हुँदै थियो।
‘ड्राइभरले रोक्दै रोकेन,' दुर्घटनाबाट बाँच्न सफल यात्रु क्षितिजराज टमटाले भने, 'हामीले जबर्जस्ती रोक्न लगायौं र यात्रु झार्यौंै। यस्तरी गाडी चलाउने भए हामीलाई यहीँ झार्देऊ, जाँदैनौं पनि भन्यौं, तर रोकेन।'
साहुले यात्रुलाई थामथुम पारे र चालकलाई जबर्जस्ती चलाउन लगाए।
टमटाका अनुसार साहु दीपक आफैं कन्डक्टर बनेर यात्रुसँग पैसा लिँदै टिकट जाँचिरहेका थिए।
चालक र साहुबीचको झगडा झन् चर्कंदै गयो। बसभित्रको झगडा र गाडीको गतिले पूर्वी चितवनको भण्डारा, लोथर कसरी कट्यो, थाहै नपाएको घाइते यात्रु बताउँछन्। यात्रुले गति बढी भयो भनेर पटक–पटक कराउँदा पनि चालकले टेरेनन्।
एक्कासि मकवानपुरको बस्तीपुरमा राति करिब साढे १ बजे बस विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएर पल्टियो। ठोक्किनुअघि नै चालक तामाङ हामफालिहाले। उनको सट्टा चालक सिटको पछाडि बसेकी महिलाको शरीर क्षतविक्षत भयो।
इलामबाट काठमाडौं आउँदै गरेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स बससँग जुधेर पल्टँदा १० यात्रुको मृत्यु भयो। ३२ घाइते छन्। दुर्घटनामा एक रसियाली अनुसन्धाताको पनि निधन भयो।
‘हामीलाई बाटैमा झार्देको भए ज्यान त जाँदैनथ्यो,' घाइते मोरङ, केराबारीका कृष्णबहादुर घिमिरेले भने, 'मनलाग्दी गाडी चलाउँदा यत्रो दुर्घटना भयो।’
यात्रुका अनुसार खाना खाएपछि अलि वर तेल हाल्ने क्रममा पनि झगडा चलिरहेको थियो। डिजेल हाल्न चाबी नखुलेपछि चालकले कन्डक्टर बनेका साहु दीपकलाई होच्याउँदै भनेका थिए, 'यस्ता मुला चाबी खोल्न नसक्ने पनि के कन्डक्टर?’ घिमिरेले चालकको भनाइ उद्धृत गर्दै सुनाए, 'जे–जे भए पनि तेरै गाडी बिग्रन्छ, मलाई के मतलब? अब हेटौंडा नपुगी रोकिन्न।’
रामनगर जंगलको एक खाल्डोमा गाडीको चक्का फस्दा यात्रु तर्सिएका थिए। गाडी कम हाँक्न भन्दै यात्रुले कराए। मलेसिया जान काठमाडौंमा पासपोर्ट बनाएर फर्किएका तीर्थ तामाङले चट्याङ परेजस्तो गरी बस जुधेको बताए। ‘झल्याँस हुँदा चालक, साहु भाग्दै,' उनले भने, 'ओर्लेर खेदेँ, भेटिनँ, गमला उठाएर हानेँ, लागेन।'
इलामबाट आएका विद्यार्थी विनोद रिजाल अर्को बसका घाइते हुन्। सँगै बसेका साथी मिलन अधिकारी गुमाएका उनी विक्षिप्त छन्। इलामबाट पढाइका लागि काठमाडौं जान लागेकी सुष्मा दाहालले ठूलोबुबाको छोरा दाइ प्रिजज दाहाल गुमाएकी छन्। चालकपछाडिको सिटमा बसेका दाजुबहिनीमध्ये झ्यालपट्टि बसेका दाजुको मृत्यु भयो। इलामकै कर्म तामाङ मेडिकल चेकजाँच गर्न काठमाडौं जाँदै थिए। उनी पनि घाइते छन्।
‘स्पिड छँदै हामीले पटक–पटक भन्दा पनि मानेनन्, 'इलामका लेखा आचार्यले भने, 'एकैछिनको झगडाले यात्रु मारे।’ सँगै आएका साथी गुमाएका उनी सामान्य घाइते छन्।
साहुले चालकलाई जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ। 'चलाउनै परिसकेपछि चालकले पनि होस गुमाउनु हुन्थेन,’ जिल्ला प्रमुख डिएसपी दीपक थापाले भने। रात्रिबस र लामो रुटका गाडीले बीच बाटोमा चालक फेर्नुपर्ने सरकारी नियमसमेत शुभश्रीले पालना नगरेको उनले बताए। थापाका अनुसार तीव्र गतिसँगै अनियन्त्रित हुँदै साइड छाडेपछि बस अर्को बससँग जुध्न पुगेको थियो।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत