Monday, September 29, 2014

१६ देखि १७ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण



काठमाडौं,असोज १४ –सरकारले भारतबाट थप २ सय मेगावाट बिजुली किन्ने प्रक्रिया सुरु गरेको छ । हिउँदमा लोडसेडिङ अवधि दैनिक १२ घन्टाबाट बढ्न नदिन नेपाल विद्युत प्राधिकरणले गत वर्षभन्दा बढाएर बिजुली किन्ने तयारी अघि बढाएको हो ।

थप बिजुली आयातनिम्ति भारतीय सीमा क्षेत्रका प्रसारण लाइन मर्मत र स्तरोन्नति गर्न प्राधिकरणले भारतीय सरकारी अधिकारीसँग वार्ता गरिरहेको छ । विद्युत व्यापार कर्पोरेसन (पिटिसी) सँग यसबारे वार्ता गर्न प्राधिकरण प्रसारण निर्देशनालयका निमित्त उप–कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर, इन्जिनियर अनिल राजभण्डारी र मनिलनिधि तिवारी नयाँदिल्ली पुगेका छन् ।

भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव देवेन्द्र चौधरीको संयोजकत्वमा थप बिजुली ल्याउनेबारे आइतबार र सोमबार वार्ता भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए । ‘२ सय मेगावाट बिजुली थप किन्ने प्रस्ताव राखेका छौं, सहमति भए हिउँदको लोडसेडिङ १० घन्टामा झार्न सकिन्छ,’ उनले भने, ‘दिल्लीमा रहेको प्राधिकरणको टोलीले मंगलबार अन्तिम छलफल सकेर यसबारे टुंगो लगाउनेछ ।’

थप बिजुली किन्न नसके पनि अधिकतम १२ घन्टाभन्दा बढी बिजुली कटौती नहुने पाण्डेयको दाबी छ । प्राधिकरणकै भारप्रेषण केन्द्रले भने आउँदो हिउँदमा प्रसारण प्रणालीमा बिजुली थपिने सम्भावना कम रहेकाले १६ देखि १७ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको छ ।
नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत