Thursday, September 18, 2014

छिल्लो समय बजारमा बग्रेल्ती देखिएका आत्मकथाका पुस्तकहरू

भाद्र २७ - 
के यो आत्मकथाको युग हो ? पाठकहरू प्रकाशोन्मुख भनिएका आत्मकथाको व्यग्रताका साथ प्रतीक्षा गर्न थालेका हुन् ? यस्ता नेपालमा पुस्तकहरूको अगि्रम बुकिङको चलन पनि सुरु भएको हो ? पछिल्लो समय बजारमा बग्रेल्ती देखिएका आत्मकथाका पुस्तकहरूले यी प्रश्नहरूको पक्षमा उत्तर दिन्छन् । तिनले पाएको चर्चाको गति तथा बिक्रीले पनि सकारात्मकै जवाफ दिन्छ । र, सँगसँगै नेपाली साहित्यमा उपन्यासको दबदबालाई आत्मकथाले कमजोर पार्न थालेको महसुस पनि हुन्छ । केही वर्ष वा महिनाभित्र उल्लेखनीय सङ्ख्यामा निस्किएका आत्मकथाले नेपाली वाङमय बजार भरिभराउ हुन पुगेको छ । के ती साँच्चै आत्मकथा नै हुन् ? या आत्मकथाका नाममा झूटका पुलिन्दा ? तिनले आत्मकथाको धर्म निर्वाह गरेका छन् ? यी प्रश्नहरू भने यतिखेर पेचिलो बनेर तेर्सिएका छन् ।

आत्मकथाको आत्मा भनेको 'कन्फेसन' अर्थात् स्वमूल्याङ्कन वा कमजोरी स्वीकार हो । यस्ता पुस्तकका पाठक आत्मकथाकारको चमत्कार वा नायक व्यक्तित्वमात्र होइन उसका कमीकमजोरी र गल्तीहरूलाई अझै बढी ध्यानपूर्वक खोजिरहेका हुन्छन् । पाठकलाई राम्ररी थाहा छ, मानवीय कमजोरी हरेक मान्छेमा हुन्छ । त्यसकारण पनि आफ्नोबारेमा कठोर बन्न नसक्ने मान्छेले आत्मकथा लेख्नु एउटा दुर्घटनामात्रै हो । आत्मकथा लेखक आफ्नाबारेमा छिद्रान्वेषी हुनैपर्छ । महिमामण्डन होइन कमजोरीमण्डन गर्ने हिम्मत गर्नुपर्छ । आफ्नो स्वभाव जतिसुकै दुच्छर भए पनि सदाचारी, उपकारी, विद्वान्, स्वाभिमानी, ज्ञानी र दयालु देखाउन यदि आत्मकथा लेख्ने हो भने त्यो जतिको वाहियात काम अर्को केही हुनेछैन ।

भारतमा हालसम्म सबैभन्दा लोकपि्रय रहेका नेता महात्मा गान्धीले आफ्नो आत्मकथामा वेश्यागमन वा स्त्रीको सन्दर्भ ल्याउँदा उनको कद घटेको छैन, झनै बढेको छ । उनको गुणका अघिल्तिर सानातिना मानवीय कमजोरी आफैं ओझेल परेका छन् । मान्छेहरूले आजसम्म कहिल्यै गान्धीलाई व्यभिचारी भन्न सकेका छैनन् । आत्मकथाका पारखी पाठकलाई प्रसिद्ध भारतीय लेखिका कमला दासले धर्म र समाजलाई चुनौती दिँदै झन्डै ७ दशकको उमेरमा गरेको नयाँ विवाहले विस्मित पारिदिएको थियो । एउटी हिन्दु परिवारकी कमलाले मुसलमान नवपतिसँग बाँकी जीवन बिताउन गरेको त्यो कठोर निर्णय आफ्नो आत्मसंस्मरण मार्फत सार्वजनिक गरेकी थिइन् । त्यतिमात्र होइन आत्मकथाका पारखीले लोकतन्त्रका योद्धा नेल्सन मन्डेलाले काँटाद्वारा 'डिप फ्राइड चिकेन' खान नजान्दा त्यसबेलाकी प्रेमिका (पछि पत्नी) विनीका परिवारले 'पाखे' भनेको सन्दर्भ पनि झल्झली याद गर्छ । एउटा महत्त्वपूर्ण मान्छेको जीवनमा यस्ता घटना झिनामसिना हुन्, तर तिनै झिनामसिना घटनाहरूको उद्घाटनले आत्मकथालाई रुचिकर बनाएको हुन्छ । मन्डेलाको आत्मकथाले राजनीति, लोकतन्त्र, नागरिक स्वतन्त्रता, रङ्गभेदबारे अन्य थुप्रै गम्भीर कुरा गरेको छ । भारतीय पत्रकार विनोद मेहता, पाकिस्तानी सैनिक जनरल परवेज मुसर्रफ, तानाशाह हिटलरलगायतका आत्मकथाका पुस्तकलाई पारखी पाठकले बिर्सन सकेका छैनन् । आ-आफ्ना मुलुकमा कुनै समय कुनै न कुनै सन्दर्भमा चर्चाको चुलीमा पुगेका यी व्यक्तिहरूले आत्मकथा लेख्दा बढी मात्रामा 'कन्फेसन' नै गरेका छन् । आफ्ना सानातिना कमजोरीलाई पनि निर्धक्क अक्षरमा पोखेर आनन्द लिएका छन् । तिनलाई पुस्तक लेख्दा कुन मितिमा मैले के बोलेको थिएँ या के गरेको थिएँ भनेर याद गरिरहनु कहिल्यै आवश्यक परेन । किनकि तिनले आफ्नो आत्मकथा सत्य र तथ्यको मसीले लेखे । हजारौँ प्रश्नहरूले घेर्दा पनि ती किञ्चित विचलित भएनन् । त्यस्ता प्रश्नहरूको उत्तर समय र स्वयम् आत्मकथाको पुस्तकले नै दियो ।

तर दुर्भाग्य पछिल्लो समय नेपाली आत्मकथा उल्टो गतिमा बग्न थालेको देखिएको छ । केही वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा डामिएका एकजना नेता तथा मन्त्रीले आफ्नो आम्दानीको स्रोत देखाउने क्रममा आत्मकथाको बिक्रीलाई पनि जोडिदिए ! आत्मकथा नामको तिनको झूटको पुलिन्दालाई नेपाली पाठक तथा सञ्चारमाध्यमले बेवास्ता नै गरिदिएका थिए । तिनको आत्मकथा कुनै 'खाली सिसी पुराना कागज' को व्यापारीको गोदाममा थुपि्रएको थियो । वास्तवमा त्यो 'घाटाको व्यापार' भएको थियो ।

आत्मकथा कुनै स्त्रीलम्पट पुरुषले 'एक नारी ब्रह्मचारी' देखाउन वा त्यस्तै चरित्रकी नारीले सीता देखिन, निरङ्कुशले लोकतान्त्रिक, राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाउनेले सदाचारी प्रमाणित गर्न लेख्ने विधा होइन । तर यतिखेर यस्तो लाग्छ, हाम्रा आत्मकथा लेखकहरू सबै महान्आत्मायुक्त छन् । तिनले जीवनमा कुनै गल्ती नै गरेका छैनन् । ती नहुँदा हुन् त यो मुलुक कसैको उपनिवेश भइसक्थ्यो, आर्थिक रूपमा टाट उल्टिसक्थ्यो, निरङ्कुशता बलियो भएर जनता रैती बनिसक्थे ! हुने भए पुस्तकमा तिनले 'बाग्मतीलाई सुल्टो बग्न मैले नै सिकाएको हुँ' भनेर पनि लेख्थे ! प्रसिद्ध भारतीय साहित्यकार अज्ञेयले कतै भनेका छन्, 'आत्मकथा ढोँगी र पाखण्डीहरूले आफ्नो ढोँग तथा पाखण्ड छोप्न लेख्ने विधाका रूपमा देखापरेको छ ।'



केही वर्षअघि निस्किएको साहित्यकार जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' नामक पुस्तकलाई नेपाली आत्मकथाको कोसेढुङ्गा मान्न सकिन्छ । म यहाँ त्यो पुस्तकको स्तरको कुरा गरिरहेको छैन । त्यो बेग्लै बहसको विषय हुन सक्छ । त्यसले बजारमा ल्याएको तरङ्गका आधारमा हेरिनुपर्छ भन्ने मेरो मान्यता हो । घिमिरेको पुस्तक निस्किएको केही महिना वा सुरुवाती वर्षहरूमा अखबारहरूले गर्ने पुस्तकवार्तामा अटाएका अधिकांश व्यक्तिले अन्तर्मनको यात्रा पढिरहेको, पढिसकेको वा पढ्ने इच्छा भएको बताएका देखिन्थ्यो । यसबाट पनि उक्त पुस्तकको लोकपि्रयता बुझ्न सकिन्थ्यो । पुस्तक बिक्री वा त्यसको लोकपि्रयतामा उनलाई लागेको गम्भीर रोगले पनि धेरै भूमिका खेलेको हुन सक्छ । हामी नेपाली अधिकांश: भावनामा बढी बाँच्छौँ । यसको अर्थ घिमिरे कमजोर लेखक हुन् भन्न खोजिएकोचाहिँ पक्कै होइन । उनले मृत्युलाई चुनौती दिँदै लेखेको त्यो पुस्तक प्रेरणादायी कृति अवश्य हो । त्यसपछि हास्यकलाकार हरिवंश आचार्यको 'चिना हराएको मान्छे' पनि उत्तिकै चल्तीको आत्मकथा रह्यो । विवेक शाहको 'मैले देखेको दरबार' ले पनि केही चर्चा पायो । यसैबीचमा निस्किएको नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको आत्मकथा 'टाकुरामा एक्लो मान्छे' भने आत्मकथाका पुस्तकहरूको भीडमा कतै बिलायो । कतिपयका श्रीमती वा परिवारका अन्य सदस्यको मृत्युले पनि आत्मकथाको जन्म हुन पुगेको देखिन्छ । आफ्नो जीवनसँग अत्यन्तै नजिकबाट जोडिएका मान्छेको मृत्यु कसका लागि अपूरणीय र कष्टकर नहोला ? त्यस्ता पुस्तकको अध्ययनले पाठकले के पाउँछन् भन्ने कुरो नै मूल प्रश्न हो । त्यस्ता कृतिको परख नेपाली पाठकले गरिरहेकै छन् ।

नेपाली आत्मकथा लेखकहरूले सबैभन्दा बढी सहारा दिवङ्गत तर विभिन्न कारणले महत्त्वपूर्ण मान्छेसँगको सम्बन्धलाई लिएको देखिन्छ । पछिल्लो समय प्रकाशित तथा बहुचर्चित र विवादितसमेत हुन पुगेको रुक्माङ्गद कटवालको आत्मकथाले पनि सोही टेको लिएको छ । उनले पुस्तकमा सबैभन्दा बढी जिकिर गिरिजाप्रसाद कोइरालाको गरेका छन्, राजा महेन्द्र र वीरेन्द्रको पनि उसैगरी प्रसङ्ग ल्याएका छन् । त्यतिमात्र होइन दोस्रो जनआन्दोलन २०६२/६३ का कारण गद्दीच्युत हुन पुगेका राजा ज्ञानेन्द्रका सन्दर्भ पनि निकै जोडेका छन् । स्पष्ट छ, कटवालको पुस्तकमा उठाइएका प्रसङ्गहरूको प्रतिवाद ज्ञानेन्द्र शाहले गर्ने छैनन् भने कोइराला र दिवङ्गत अन्य राजाको त झन् कुरै भएन । उनको यो आत्मकथा 'फिक्सनल अटोबायोग्राफी' को कोटीमा पर्दछ । कटवालको आत्मकथामा औपन्यासिक तत्त्व बढी पाइन्छ । फिक्सनल अटोबायोग्राफी कुनै एक महत्त्वपूर्ण व्यक्तिको जीवनमा आधारित हुन्छ । त्यस्तो पुस्तकमा तिथिमिति, घटनालगायतका सबालमा यथार्थलाई बढी ध्यान दिइएको हुन्छ । यति हुँदाहुँदै पनि पुस्तकमा वणिर्त मूल चरित्रको विकासलाई केही कलात्मक लेप लगाउने छुट यसमा हुन्छ । कतिपय ऐतिहासिक उपन्यासहरू यस कोटीमा पर्दछन् । पुस्तकलाई कसरी बढी रोमाञ्चक बनाउने भन्ने ध्येय लेखकले राखेको हुन्छ । पूर्व प्रधानसेनापति कटवालको आत्मकथा यही कोटीको नजिक रहेको देखिन्छ । यो एउटा रोमाञ्चकारी सिनेमाजस्तो बन्न पुगेको छ । त्यो सिनेमाको नायक चमत्कारी छ । देशका सबैखालका समस्या ऊ एक्लैले समाधान गरिदेलाजस्तो लाग्छ । ऊ जे गर्छ जनता र समाजका निम्ति गर्छ, जे बोल्छ सही र सत्य बोल्छ । हाम्रो सिनेमामा नायक कहिल्यै हार्दैन, अरूलाई हराउँछ ! 'अ हिरो क्यान डु नो रङ' यही मान्यताले ओतप्रोत छ कटवालको आत्मकथा ।

वास्तवमा आत्मकथाले जीवन र समय दुरुस्त बताउन सक्नुपर्छ । त्यसमाथि कुनै प्रशासक, सुरक्षा निकायका जिम्मेवार अधिकारी, राजनीतिक नेताले समयलाई बेवास्ता गरेर आत्मकथा लेख्ने हो भने त्यो इतिहासमाथि नै बेइमानी गरेको ठहर्नेछ । आत्मकथा इतिहासको पुनपर््रकाशन पनि त हो ।

आत्मकथाका केही विश्वमान्यता छन् । आत्मकथामा आत्मप्रकाश गरिन्न, बरु आत्ममूल्याङ्कन गरिन्छ । अर्को कुरा यसमा लेखकले आफ्नो निजत्वभित्र प्रवेश गर्न सक्नुपर्छ । र, कन्फेसन त झनै महत्त्वपूर्ण हुन्छ । आत्मकथा लेखक उच्च तहको 'सेल्फ क्रिटिकल' हुनु आवश्यक छ । १८ औँ शताब्दीमा प्रकाशित प्रसिद्ध दार्शनिक लेखक जिन ज्याक रुसोले आफ्नो आत्मकथाको शीर्षक नै 'कन्फेसन' राखेका थिए । सन् १७८१ मा पहिलोपटक प्रकाशित उनको पुस्तकको ख्याति संसारभर अझै कायम छ । उक्त पुस्तकको सबैभन्दा ठूलो शक्ति भनेकै 'भावुक सत्यता' को उद्घाटन हो । पुस्तकमा उनले निर्धक्क ढङ्गमा आफ्नो यौन तथा पारिवारिक जीवन र बौद्धिक उन्नतिको समानान्तर रूपमा बयान गरेका छन् । बेलायत निर्वासनमा रहेका बेला सन् १७६६ उनले कन्फेसन लेख्न सुरु गरेका थिए । त्यसबेला विभिन्न मुलुकमा उनका अन्य कृतिहरू जलाइएका थिए । र, उनलाई भावी पुस्ताको दुश्मनका रूपमा चित्रित गर्न भरमग्दुर प्रयत्न गरिएको थियो । उनी जिउँदै थिए, तर उनलाई मृत्युपछिको राक्षसका रूपमा प्रचार गरिएको थियो । आफूविरुद्धका यस्ता क्रियाकलापले रुसोलाई 'कन्फेसन' लेख्न प्रेरित गर्‍यो ।

इतिहासको कालखण्डमा विभिन्न कारणले एउटा मान्छे नायक वा खलनायक जे पनि बन्न सक्छ । आत्मकथा लेख्ने हक नायकलाई मात्र छैन, खलनायकलाई पनि उत्तिकै छ । हिटलरले 'माइन क्याम्फ' लेखेकै हुन् । रुसोले पनि पुस्तकमा आफूलाई कुनै 'करिस्म्याटिक' जीव देखाउने प्रयास गरेका छैनन् । सानातिना कमजोरीलाई पनि उनले सत्यताको टेकोमा अडेर भावुक ढङ्गमा उतारेका छन् ।

विश्ववाङ्मयमा आत्मकथा लेखनले उन्नाइसौँ शताब्दीको उत्तरार्द्ध तथा बीसौँ शताब्दीको आरम्भका समयदेखि अर्कै मोड लिएको पाइन्छ । कतिपय आत्मकथाले संसारभर सनसनी नै मच्चाएका छन् । स्क्यान्डलमा रुचि राख्ने पात्रका आत्मकथा झनै चर्चित बन्न पुगेका छन् । यस अवधिमा आएका कतिपय आत्मकथालाई आख्यानीकरण गरिएको पाइन्छ । तिनमा सत्यता कम र जादुमयी बयान बढी पाइन्छ । र, त्यस्ता अधिकांश आत्मकथा सम्बन्धित व्यक्तिले नलेखेर छद्म लेखक -गोस्टराइटर) द्वारा तयार पारिएको पाइन्छ । यसरी आत्मकथा लेखाउनेमा अधिकांश : खेलाडी, सेलिबि्रटी (कलाकार वा अन्य), नेता, व्यापारी, सरकारी पदाधिकारी, सेना तथा प्रहरीका अधिकारी छन् । उल्लिखित व्यक्तिका आत्मकथा लेख्नेले पुस्तकलाई मसलेदार बनाइदिएको हुन्छ । 'गोस्टराइटर' सधैँ प्रकाशकको नजिक बसेर वा उसैको इच्छामुताविक लेख्छ । र, प्रकाशकले पुस्तक लेख्न लगाउनुअगावै बजार सर्वेक्षण गरिसकेको हुन्छ । बजार मागकै आधारमा गोस्टराइटरले पुस्तक तयार पारिदिन्छ । जसका बारेमा पुस्तक लेखिने हो उसले त आफ्ना कथा भनिदिने मात्रै हो । 'गोस्टराइटिङ' र 'सेल्फ राइटिङ' मा आकाश-जमिनको फरक छ । गोस्टराइटरको ध्यान सधैँ बजार मागमा केन्दि्रत हुन्छ भने सेल्फराइटरलाई आफ्नो व्यक्तित्वको चिन्ता पनि हुन्छ । आफ्नो आत्मकथा आफैं लेख्दा भने कतिपय सन्दर्भलाई लेखकले आफूलाई ढाँट्न कठिन पर्छ । नचाहँदानचाहँदै पनि ऊ सत्य उद्घाटित गर्न विवश हुन्छ, चाहे त्यो भावुक सत्य होस् चाहे कोरा तथ्य ।

विवादित वा 'स्क्यान्डल' मा रम्ने मान्छेका आत्मकथा प्रकाशन गर्न प्राय: प्रकाशकहरू उत्सुक हुने गर्दछन् । संसारमै असल मान्छेका आत्मकथा कि त कमै निस्केका छन्, कि त त्यस्ता पुस्तक अत्यन्त कम सङ्ख्यामा मात्रै बिक्री भएका छन्, तिनका बारेमा फितलो चर्चा भएका छन् । प्रकाशकलाई के थाहा छ भने विवादित वा स्क्यान्डल गर्न रुचाउने मान्छेका पुस्तकको बजार उच्च छ । प्रकाशकलाई त्यस्ता पुस्तकको आयु छोटो हुने तथ्य अवगत पनि हुन्छ । र, नै उनीहरू चाँडोभन्दा चाँडो पुस्तक बेचेर नाफा कमाउन चाहन्छन् । वास्तवमा यी कुनै पनि आत्मकथा होइनन्, आत्मकथाका नाममा गरिएका व्यापार हुन् । यिनका कथा रोमाञ्चकारी र जादूमयी हुन्छन् । यस्ता सनसनीखेज तथा आख्यानीकृत आत्मकथाले अखबारमा मनग्गे ठाउँ पाइरहेका छन् । संसारभरि नै यस्ता आत्मकथाका प्रकाशक र पत्रिका प्रकाशकको व्यापारिक साँठगाँठ अदृश्य रूपमा मौलाउँदै गएको छ ।

Kantipur 
प्रकाशित मिति: २०७१ भाद्र २८ ११:५९

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत