Saturday, October 11, 2014

सयौं नेपाली बिरामी दिल्लीमा



हातको नसासम्बन्धी अप्रेसनमा गंगाराम अस्पतालमा भर्ना भएका मोरङ, रमाइलोका राजकुमार बरालका आफन्त अप्रेसन कक्षबाहिर प्रतीक्षारत । तस्बिर : देवेन्द्र/कान्तिपुर

नयाँदिल्ली, आश्विन २६ - जिल्ला जनस्वास्थ्य अस्पताल, भक्तपुरकी अधिकृत गीता हुमागाईं (४० वर्ष) ले आफ्नो जीवनमा पछिल्लो एक वर्ष सबैभन्दा अन्योल र सास्ती बेहोर्नुपर्‍यो। सामान्य बिसन्चोका कारण रोग पत्ता लगाउन उनको परिवारले हजारौं रुपैयाँ मात्रै खर्चेनन्, नाम चलेका सबैजसो अस्पताल र चिकित्सककहाँ धाएर रोग छिप्याउने काम गरे।

'एक दिन दाँत माझ्दा रगत आएपछि कुनै रोग लागेको शंका सुरु भएको थियो, काठमाडौंमा अनेक परीक्षण र उपचार गर्दा रगतको कमी (प्लेटलेट अभाव) भन्ने मात्रै पुष्टि भयो,' हुर्केका जुम्ल्याहा छोराछोरीकी आमा गीताले आफ्नो सास्तीपूर्ण वृत्तान्त सुनाइन्।

रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा एक महिनादेखि उपचाररत र अस्पताल नजिकै सेक्टर-५ मा श्रीमान्, बहिनीसहित डेरामा बसिरहेकी गीताले अघिल्लो वर्ष कात्तिक महिना मेदान्त अस्पताल आएर मात्रै आफ्नो रोग पत्तो पाएकी थिइन्। 'मलाई रक्त क्यान्सर भएको रहेछ, यहाँ आएर बोनम्यारोको 'एडभान्स टेस्ट' गरेपछि मात्रै थाहा भयो,' उनले भनिन्।

'बोनम्यारो' फेर्ने प्रक्रियामा रहेकी गीता मेदान्त अस्पतालमा केही महँगो पर्ने भएकाले अहिले राजीव गान्धी अस्पतालमा 'सिफ्ट' भएकी हुन्। गीताका श्रीमान् कृष्णमणि आचार्य र बोनम्यारो प्रत्यारोपणमा साथ दिने गीताकी बहिनी सरिता हुमागाईं प्रत्यारोपणको दिन पर्खेर बसिरहेका छन्।

चाबहिल घर भएका ५३ वषर्ीय गोविन्दप्रसाद आचार्यले तल्लो पेट दुख्ने समस्याले गत एक वर्षयता बेहोरेको तनावको हिसाब गरिसाध्य छैन। स्टक एक्सचेन्जका कारोबारी आचार्यले पनि काठमाडौंका अधिकांश डाक्टर र अस्पताल चहारी हेरे। उपाय नलागेपछि तीन महिनाअघि राजीव गान्धी अस्पताल आएर 'पेट सीटीस्क्यान' गरेपछि थाहा लाग्यो- उनलाई प्याङक्रियाज -आन्द्रा) को क्यान्सरले छोएको रहेछ। 'रोग थाहा लागेपछि ढुक्क भएको छ, अप्रेसनपछि बिहीबार घर फिर्दै छौं,' अघिल्लो बुधबार राजीव गान्धी अस्पतालमा भेटिएकी गोविन्दकी श्रीमती गीताले भनिन्। नेपालमा 'पेट सीटीस्क्यान' मेसिन नभएकै कारण थुप्रै सर्वसाधारणले अनेक सास्ती बेहोर्नुपरेको गोविन्दको अनुभव छ।

यस्तै, रातोपुलका ६८ वषर्ीय लेखनाथ दाहाल, मोरङका राजकुमार बराल, काठमाडौंकी सदीक्षा पौडेल, गैंडाकोटका तिलक सापकोटा, चुन गुरुङ आदिको अनुभव पनि रोगको पहिचान हुन नसक्दाको पीडासँग लम्बेतान उपचार यात्राको साइनो गाँसिएको छ। 'काठमाडौंका अस्पतालमा अनेक हैरानी बेहोरेपछि मात्रै त्यहीँका डाक्टरले भारतका अस्पताल र डाक्टरको 'रिफर' गर्ने चलन रहेछ, हामी पनि त्यही फन्दामा परेर अन्तिम घडीमा यहाँ आइपुगेका हौं,' मंसिरमा फलोअपका लागि दिल्ली आउने गरी बिदा पाएका गोविन्दले भने।

बेखबर राज्य

मेदान्त अस्पतालमा उपचारका लागि 'हवाई एम्बुलेन्स' बाट ल्याइएका पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठ, राजीव गान्धी क्यान्सर अस्पतालमा झन्डै एक वर्ष उपचारमा रहेका डा. चित्र वाग्ले वा गंगाराम अस्पतालमा उपचाररत नायक श्रीकृष्ण श्रेष्ठको यतै निधन भएपछि मात्रै नेपाली समाजमा दिल्लीसम्मको उपचार यात्राबारे चर्चा हुन थालेको छ।

दिल्ली आसपासकै अखिल भारतीय आयुर्विज्ञान संस्थान -एम्स), मेदान्त, एपोलो, सपmदरजंग, इस्कर्टस्, गंगाराम, राजीव गान्धी, म्याक्स आदिमा स्वास्थ्य परीक्षणमा आइरहने राजनीतिक नेताहरू चक्रप्रसाद बास्तोला, माधवकुमार नेपाल, झलनाथ खनाल, शेखर कोइराला, पद्मसुन्दर लावती, विद्या भण्डारी, केपी शर्मा ओली लगायतबारे मिडियामा खबरहरू छाइरहन्छ। तर सर्वसाधारणले बेहोर्ने उपचार यात्राको सास्ती र भइरहेको खर्चबारे उति चासो कसैको देखिन्न।

दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू पनि कोही वरिष्ठ नेता वा आफन्त उपचारका निम्ति कुनै अस्पतालमा भर्ती भएमा मात्रै 'सेवक' बनेर धाउने गरेका छन्। तर सयौंको संख्यामा रहेका बिरामी सर्वसाधारणलाई सेवासुविधाको पहुँच दिलाउन वा सामान्य सोधपुछमा पनि अस्पतालसम्म पुग्ने गरेका छैनन्। 'कतिपय अस्पतालले उपचार खर्चमा पनि भारतीयभन्दा नेपालीका निम्ति १५/२० प्रतिशत अनुपातमा बढी शुल्क लिने गरेको गुनासो सुन्नमा आएको छ,' दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल भन्छन्, 'सम्बद्ध अस्पतालका अधिकारीसँग भेटवार्ता गरेर यसबारे छलफल गर्नेछौं। यसैगरी, केही प्रमुख अस्पतालमा नियमित रूपमा जनसम्पर्कमा जाने कार्यतालिका पनि मिलाउँदै छौं।' अझ नेपालबाट 'रिफर' भएर आउनेका लागि बिरामीले थाहा नपाउने गरी 'समन्वय शुल्क' -कमिसन) थप गरिने गरेको पनि केही भुक्तभोगीले बताए।



यो सातामात्रै गम्भीर प्रकृतिका रोगको उपचारका निम्ति मेदान्तमा २७ जना, राजीव गान्धी क्यान्सर अस्पतालमा ५३, एपोलोमा २३, एम्समा १७, गंगाराममा २२, म्याक्समा ९ जना नेपाली बिरामीहरू भर्ना वा फलो अपमा आएको पाइयो। दुई वर्षअघि भएको मोटरसाइकल दुर्घटनामा परेर देब्रे हात 'स्थिर' बनेपछि तीन महिनाअघि परामर्शमा आएका मोरङ, रमाइलोका ४८ वषर्ीय राजकुमार बरालको यो साता गंगाराम अस्पतालमा अप्रेसन भएको छ। उनलाई फेरि एक महिनामा फलोअपका लागि गंगाराम आउन चिकित्सक अनुभव गुप्ताले सुझाएका छन्। 'दुईपटक आवातजावत गर्न र उपचारमा मात्रै झन्डै २ लाख रुपैयाँ खर्च भएको छ,' राजकुमारकी श्रीमती सुशीलाले भनिन्।

पत्रकार एवं विगतमा राष्ट्रसंघीय मानवअधिकार निकायसम्बद्ध चुनबहादुर गुरुङ पनि झन्डै ५ महिना दिल्लीको एपोलो अस्पतालमा उपचाररत रहेर कोलकाता मेडिकल कलेज 'सिफ्ट' भएका छन्। दुवै मृगौला प्रत्यारोपणका लागि 'डोनर' तयार रहे पनि डायलोसिसमा देखिएको जटिलता (इन्फेक्सन) का कारण उनी अझै परीक्षणकालमा छन्। 'एपोलोबाट फोर्टिज हुँदै कोलकाता मेडिकल आएको पनि तीन महिना भइसक्यो, अहिलेसम्म पाएको खर्च र तनावको अनुमान गर्न पनि मुस्किल छ,' चुनले फोनमा भने, 'धन्न मलाई मेरा शुभेच्छुक र हितैसीले आर्थिक सहयोग गरिरहेकै कारण उपचार निरन्तर गराउन सकेको छु।' गुरुङको एक वर्षयताको काठमाडौं-दिल्ली-कोलकाता उपचार यात्रामा ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

गत वैशाखमा झापा, मेचीनगरकी ९ वर्षीया पूजा उराउलाई ब्रेन ट्युमर भएपछि स्थानीय समाजसेवी र मिडियाकर्मी मिलेर भेलोर अस्पतालबाट अप्रेसन सम्भव गराएको खबर पनि सेलाएको छैन। 'विपन्न आदिवासी वर्गकी बच्चीको उपचारका निम्ति सहयोग जुटाउन राज्यसँग बिन्ती गरेर पनि केही उपाय लागेन,' पूजाको उपचारमा समन्वयी बनेर खटिएका धुलाबारीका लीला खनालले भने, 'हामीले स्थानीय तहबाट अभियान चलाएर देश-विदेशका दाताबाट झन्डै ५ लाख रुपैयाँ सहयोग उठायौं, त्यही भरमा भेलोर लगेर उपचार सम्भव भयो।'

पूजाको उपचारमा अभियान चलाएपछि बरु भेलोर अस्पतालका सहयोगी डाक्टरले ३ लाख रुपैयाँ जति छुट गराए पनि आफ्नो राज्य/निकाय भने असहयोगी बनेको खनालको अनुभव छ।

यस्तो 'असाध्य रोग' लागेका अवस्थामा निजामती कर्मचारी वा राष्ट्रसेवकका हकमा मन्त्रिपरिषद्को सिफारिसमा बढीमा ५ लाख रुपैयाँ राज्यले सहयोग उपलब्ध गराउने भए पनि सर्वसाधारणका हकमा राज्य तहबाट कुनै सिफारिस वा समन्वयको पद्धति बनेको छैन। यही कारण पत्रकार बीके पाल्पाली, पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठ र चिकित्सक डा. चित्र वाग्लेले ५ लाख रुपैयाँको

सहयोग पाउँदा धेरैका निम्ति यो चाखको समाचार

बन्यो भने राज्यले प्रत्याभूत गर्नुपर्ने आम नागरिकको स्वास्थ्य उपचार/सेवामा सामान्य नियम पनि तय

हुन सकेको छैन।

'नेताहरूले उपचारका निम्ति अमेरिका, बेलायत, सिंगापुर जता गए पनि सहजै राज्यबाट लाखौं रुपैयाँ पाएको दृष्टान्त हामीसामु छ। तर सर्वसाधारणको हकमा कुनै सिफारिस वा सम्पर्क माध्यम पनि बन्न नसक्नु विडम्बना हो,' दिल्लीवासी प्रवासी नेपाली प्रतिनिधि गोपाल थापा भन्छन्, 'कम्तीमा नेपाली दूतावासले अस्पताल भ्रमण वा उपचारमा आएका नेपालीका निम्ति समन्वयको काम गरिदिए पनि धेरै हुने थियो।'

'टेक्नु न समाउनु’

श्रीमती गीता हुमागाईंको उपचारमा दिल्ली आएका कृष्णमणि आचार्य राष्ट्रिय बिमा संस्थानका कर्मचारी हुन्। 'बोनम्यारो' फेर्ने तयारीमा रहेकी गीताकी बहिनी सरिता नन्दीरात्रि स्कुलकी निमावि शिक्षिका हुन्। 'शरीरमा रगतको कमी -प्लेटलेट) अवस्था त छँदै छ, सुरुमा रक्त क्यान्सर रोगको उपचार किमो दिएर मात्रै हुन्छ कि भन्ने थियो,' कृष्णमणि भन्छन्, 'तर गत वैशाखबाट फेरि स्थिति जटिल बनेपछि बोनम्यारो फेर्ने उपायमा लागेका हौं।'

फेरि यो बोनम्यारोको कथा पनि कम्ती विदारक छैन। डीएनए र अन्य प्रकृति मिल्दो बोनम्यारोको खोजी हुँदा ब्राजिलका एक दातासँग मात्रै गीताको 'स्याम्पल' मिलेको भेटियो। 'तर यो बोनम्यारो उपलब्ध गराउने समन्वयी संस्थाले ७० लाख रुपैयाँ जति माग गरेपछि मिल्दो बोनम्यारो फेर्न सक्ने स्थिति आएन,' उनी भन्छन्,

'अनि आफ्नै परिवारमा ५० प्रतिशत मात्रै -एचएलए)

मिल्ने बहिनी सरिताको बोनम्यारो प्रत्यारोपण गर्ने

तयारी गरेका छौं।'

बोनम्यारो फेर्न दिनुपर्ने रकम प्रत्यक्ष रूपमा दाताले पाउने नभएर बीचको एजेन्सीले लिने भएकाले र त्यही रकम पनि तिर्नै नसकिने भएकाले ज्यान जोगाउने उपायमा थप कठिनाइ उब्जिएको गीताको भोगाइ छ। गीताका अस्ट्रेलिया र अमेरिका बस्ने दुई भाइ प्रकाश/प्रदीपसँग पनि बोनम्यारो मिल्दो नभेटेपछि बहिनी सरिताको परीक्षणमा ५० प्रतिशत मिल्दो स्थिति भेटिएको हो। राजीव गान्धी क्यान्सर अस्पतालका अरू केही बिरामीका हकमा पनि ५० प्रतिशत मिल्दो बोनम्यारो भेटिएमा प्रत्यारोपण गरिएको उदाहरण भेटेर उपचारको पर्खाइमा रहेको कृष्णमणिले सुनाए।

नेपालमा पनि निजामती अस्पतालका डाक्टर विशेष पौडेलले ६ नेपालीको 'बोनम्यारो' सफल प्रत्यारोपण गराएको भए पनि केहीयता 'नेपालमा अंग/रगत प्रत्यारोपणको कानुन भए पनि' त्यसमा कतै पनि 'बोनम्यारो' शब्दावली नपरेको भन्दै यो काममा रोकावट आएको छ। 'बोनम्यारो भन्नासाथ कुनै हड्डी फुटाएर त्यहाँको कोष -मासी) नै साटफेर गर्ने हो कि भन्ने खालको भ्रम नेपाली सर्वसाधारण, संस्कार र पद्धतिमा छ,' बोनम्यारो प्रत्यारोपणका निम्ति तयार रहेकी सरिताले भनिन्, 'यो पनि रगतबाट झिकिने कोषिका मात्रै हो भन्ने बुझबुझारथ हुन सकेको छैन।' गीताको उपचारमा २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारमा भेटिएका ५३ नेपालीका आफन्त र रेखदेख गर्नेसहित गरेर सयभन्दा बढी व्यक्ति अस्पताल नजिककै रोयल नेपाली रेजिडेन्सीमा भाडामा बसिरहेका छन्। नेपालको नर्भिक अस्पतालको 'रिफर' लिएर मेदान्त अस्पतालमा जाने बिरामीका निम्ति अस्पताल आसपासमा बस्ने सुलभ आवास व्यवस्था छैन। तर राजीव गान्धी क्यान्सर अस्पताल आसपासमा भने आवासीय सुविधासमेत छ। 'यहाँ एउटै फ्ल्याटका दुई बेडमा एकातिर श्रीमान् र अर्कातिर श्रीमती क्यान्सरका बिरामीसमेत उपचाररत हुने गरेका छन्,' नेपाली बिरामीका लागि सहयोग आवास व्यवस्था गर्ने जिनेश जैन भन्छन्।

दिल्लीका अस्पतालहरू धाउने नेपाली बिरामीको औसत हेर्दा एक महिनामा ३ सय ५० जना बिरामी अल्पकालीन वा दीर्घकालीन उपचारका लागि परामर्शमा आइरहेका छन्। यो आँकडाअनुसार वाषिर्क झन्डै ४ हजार बिरामीले गर्ने खर्चको अनुपात आकलन गर्दा कम्तीमा ५ अर्ब रुपैयाँ नेपालबाट बाहिरिने गरेको तथ्य स्पष्ट देखिन्छ। राजीव गान्धी अस्पतालमा क्यान्सर उपचारमा आएकामध्ये केहीले वाषिर्क रूपमा प्रतिबिरामी १ करोड रुपैयाँसम्म खर्चेको पाइएको छ।

न कानुन न 'डाइग्नोसिस’

'बोनम्यारो' प्रत्यारोपणबारे स्पष्ट कानुन नभएको भन्दै र 'बोनम्यारो' प्रत्यारोपणको कामलाई अंग वा रगत केसँग जोडेर राख्ने हो भन्ने अन्योल रहेपछि नेपालमा यो विषय अझ जटिल बनेको हो। 'कानुनमा बोनम्यारोबारे नबोलिएकै अवस्थामा हामीले लाखौं रुपैयाँ भारत आएर खर्चनुपरेको छ,' रक्त क्यान्सरकी पीडित गीता भन्छिन्। तर बाहिरी मुलुकमा भने रगतकै अंश र प्रक्रियाका रूपमा 'बोनम्यारो' लाई लिइने गरिएको छ।

अर्कातिर, भैरहवा घर भएकी ४४ वषर्ीया निर्जला भट्टराईले भने नेपालमा सही 'डाइग्नोसिस' नपाएर चार वर्षसम्म कहिले रक्तअल्पता (सिलियाक) त कहिले 'पाठेघर क्युरेट' गर्दै यसको औषधि खाइरहिन्। अघिल्लो महिना मात्रै मेदान्त अस्पतालमा आएर डाइग्नोसिस गर्दा थाहा लाग्यो- उनको शरीरमा आइरन बन्न नसकेका कारण नसाबाट निकै चर्को डोजमा इन्ट्राभेनस आइरन दिनुपर्ने भएको रहेछ।

मेदान्तमा जम्मा ३ घन्टा भर्ना भएर 'इन्ट्राभेनस आइरन' प्रक्रिया पूरा गरेर अहिले तन्दुरुस्त निर्जला नेपाल फर्किसकेकी छन्। 'कुरा पैसा खर्च भएकोमा मात्रै होइन, बितेका चार वर्षसम्म अनेक परीक्षण र डाइग्नोसिसका नाममा मेरो शरीरमाथि अनेक प्रयोग भइरह्यो,' मेदान्त आएका बेला निर्जलाले भनिन्, 'नेपालका निकै वरिष्ठ भनिएका डाक्टर र स्त्रीरोग विशेषज्ञको नाम केले अडिएको होला भनेर म अहिले सोचिरहेकी छु।'

अघिल्लो वर्ष राष्ट्रपति रामवरण यादवलाई क्यान्सरको शंकामा जापानसम्म परीक्षणमा लगेपछि तत्कालीन बजेटमा 'पेट सीटीस्क्यान मेसिन' -सम्पूर्ण शरीर विज्ञान परीक्षण यन्त्र) खरिद गर्न २५ करोड रुपैयाँ विनियोजन भएको थियो।

'तर प्रक्रियागत सुस्तता र निर्णय प्रक्रिया ढिलाइले विनियोजित रकमको उपयोग हुन सकेन,' प्रधानमन्त्री कार्यालयका एक अधिकृत भन्छन्, 'अब फेरि प्रधानमन्त्री वा राष्ट्रपतिमा त्यस्तै आकस्मिक स्वास्थ्य परीक्षणको स्थिति नआई यो मेसिन खरिद गर्ने निर्णय उल्टेला

भन्न सकिन्न।'

विशेषतः क्यान्सर रोगको पहिचान, अवस्था, प्रकृति र गम्भीरता पहिल्याउन पनि 'पेट सीटीस्क्यान' जरुरी रहेको भन्दै मुख्यसचिव लीलामणि पौडेलले यो मेसिन खरिदमा पहल गर्दै आएर पनि निर्णय अल्भिmएकै अवस्थामा छ। यसबाहेक, शारीरिक परीक्षण र विशेष गरी रक्त परीक्षणमा 'एडभान्स टेस्ट' (एएमएल) का लागि चाहिने उपकरणसमेत नेपालमा नरहेको अवस्थाबारे रक्त क्यान्सरका पीडितले जानकारी गराएका छन्।
kantipur 

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत