४ कात्तिक, काठमाडौँ ।
हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ ।
यस बर्षको तिहारमा भाइटीकाको साइत कात्तिक ८ गते बिहान ११ बजेर ३५ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच यमपञ्चकको पहिलो दिन आज कागतिहार समस्त नेपालीले आ–आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गरेका छन् । आजका दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पक्षीका रुपमा लिने गरिन्छ । बिहानपख काग कराएमा त्यसलाई शुभ साइत मानिन्छ । आज साँझ यमदीप दानसमेत गर्ने चलन रहेको छ ।
तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली गरिन्छ । यस्तै चौथो दिन गोवद्र्धन र गोरुपूजा तथा नेवार समुदायमा म्हपुजा गर्ने चलन रहेको छ भने अन्तिम दिन भाइटिका लगाउने चलन रहेको छ । तिहारको लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । लक्ष्मीपूजा र गोवद्र्धन पूजाको दिन केटाकेटी तथा युवा जम्मा भई आ–आफ्ना छिमेकीका घरघरमा पुगी देउसी–भैलो खेल्ने प्रचलनसमेत रहेको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत