Saturday, October 18, 2014

बेलायती बाबुको पुकार- अन्नपूर्णमा छोरो हरायो

संसारभरि रुवावासी हुँदा के हेर्दैछ नेपाल सरकार ?
२ कात्तिक, काठमाडौं । बेलायती नागरिक जेम्स जाेहन्सनले अक्टोबर ७ मा आफ्नो फेसबुकमा स्टाटस लेखे, ‘दिन आयो । अन्नपूर्ण आसपास २० दिनको माउन्टेन ट्रेक सुरु भयो । मलाई सौभाग्यको कामना गर्नोस् । उद्देलित अनुभूति भइरहेछ ।’

जेम्स जाेहन्सन

फेसबुकमा जेम्सलाई धेरैले ‘गुड लक’ भने । तर उनको फेसबुक ७ अक्टोबरदेखि नै अपडेट छैन ।
नेपाल आएका जेम्स हराएपछि उनका पिता स्टेव जाेहन्सनले आफ्नो फेसबुकमा लेखेका छन्,’मैले भर्खरै उनका बारेमा सुनेको छु । मेरो चिन्ता मेरो छोरा जेम्स जाेहन्सनप्रति छ, जो एकजना फ्रान्सेलीसँगै सम्पर्कविहीन भएका छन् । यदि तपाईले उनलाई देख्नुभएको छ या उनी सुरक्षित छन् भने जानकारी गराइदिनु होला ।’
बेलायत निवासी भीमराज तुम्वाहाम्फे सोध्छन्,’ यी मेरा साथीका छोरा हुन्, तपाई तिनीहरुलाई पहिचान गर्न सक्नुहुन्छ, जो अन्नपूर्णमा मारिएका थिए ?’
नेपाली मिडियाले अन्नपूर्ण पदयात्रामा ३८ भन्दा बढीको ज्यान गइसकेको समाचार दिएपछि र सयौंको संख्यामा पर्यटकहरु सम्पर्कविहीन भएपछि बेलायतका स्टेव जाेहन्सनलाई जस्तै संसारभरिका नागरिकलाई नेपाल आएका आफन्तबारे चासो र चिन्ता छाएको छ ।
धेरै मान्छे मरेको देखाउन कतिपय मिडियालाई भ्याई नभ्याई छ । स्थानीय प्रशासनले भने मुस्ताङमा १९ को मात्रै मृत्यु भएको र कैयौं सम्पर्कविहीन भएकाले जीवितै रहेको हुन सक्ने सम्भावना औंल्याएको छ । बेलायती नागरिक स्टेभले पनि आफ्नो छोरो जीवितै रहेको अझै आशा मारेका छैनन् ।


अहिलेसम्म हिमपातमा कति जना मरे र ती कोको हुन् भन्ने आधिकारिक जानकारी नेपाल सरकारले सार्वजनिक गरेको छैन

नेपालमा ट्रेकिङका लागि आउन पाउँदा जेम्स कम्ता खुशी थिएनन् । अन्नपूर्ण पदयात्राका लागि २० दिन भिसाको म्याद थपिएकोमा उनले खुशी प्रकट गर्दै अक्टोबर ३ मा फेसबुकमा स्टाटस लेखेका थिए । र, त्यसको चार दिनपछि उनी पदयात्रामा गएका थिए ।
नेपालको हिमाली भेगमा कति विदेशी पर्यटकहरु आउँदारहेछन् भन्ने सूचना यसपालिको हिमपात र त्यसबाट आएको विपत्तिले धेरैलाई जानकारी दिलाएको छ । मुस्ताङ र मनाङको सीमानामा पर्ने थोराङ पासबाट डेढसय पर्यटकको उद्धार गरिएको खबरले हिमाली भेगमा विदेशीको बाक्लो आवत-जावतको प्रमाण दिन्छ ।
डोल्पामा पनि विदेशी पर्यटकको उद्दार गरिएको खबरले हिमाली भेगको व्यस्त पर्यटन बजारलाई उजागर गरेको छ । नेपालको हिमाली क्षेत्र डलरलाई आकर्षित गर्ने विश्वकै उल्लेखनीय चर्चित बजार रहेकैले एउटा प्राकृतिक विपत्ति आइपर्दा बेलायतदेखि स्वीट्जरल्याण्डसम्म मानिसहरु प्रभावित बनेका छन् । नेपालमा हिमपात हुँदा बेलायतका स्टेव जाेहन्सन आत्तिएका छन् ।
‘नेपाल र अन्तरराष्ट्रिय समुदायको कनेक्सन यो भन्दा अर्को के हुन सक्छ ?’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएका बेला भनेका थिए, पर्यटनमा नेपालले विश्वलाई आकर्षित गर्न सक्छ ।


हिमपातमा परेर विदेशी पर्यटकले दुःख पाएको सन्देशले आगामी दिनमा पर्यटकलाई सो क्षेत्रको पदयात्रामा जान निरुत्साहित गर्ने खतरा बढाएको छ

हिमपातपछिको नकारात्मक सन्देश
भारतमा आएको सामुद्रिक आँधीसँगै नेपालको हिमाली भेगमा बेमौसमी हिमपात भयो, जसले गर्दै दर्जनौं पर्यटकहरु पुरिए । अक्टोबरमा यसरी हिउँ पर्ला भन्ने उनीहरुले सोचेकै थिएनन् ।
तर, यसरी हिमपातमा परेर विदेशी पर्यटकहरुले दुःख पाएको सन्देशले आगामी दिनमा पर्यटकहरुलाई सो क्षेत्रको पदयात्रामा जान निरुत्साहित गर्ने खतरा बढाएको छ ।
यस्तो सन्देश विश्वमा प्रवाह भएमा आर्थिक हिसाबले नेपाललाई धेरै ठूलो घाटा हुन सक्छ । यसबारे नेपाल सरकारले गम्भीर रुपमा सोच्न जरुरी छ ।
विदेशी पर्यटकलाई हिमपातले निम्त्याएको त्रासदीबाट मुक्त गर्नका लागि सरकारले गर्नुपर्ने पहिलो काम भनेको हिमपातमा परेका र हराएका पर्यटकहरुको यथार्थ विवरण सार्वजनिक गर्नु हो, जसले गर्दा उनका आफन्तहरुले सही सूचना पाउन सकून् ।
अहिलेसम्म हिमपातमा परेर कति जना मरे र ती कोको हुन् भन्ने आधिकारिक जानकारी नेपाल सरकारले सार्वजनिक गरेको छैन ।


प्रश्न निरुत्तरित छ, बेलायतका स्टेव जोहन्सनले आफ्नो छोराका बारेमा यथार्थ खबर कहिले पाउलान् ?

केपी ओलीले विज्ञप्ति जारी गरेर आफ्ना मृतकको पहिचान गर्न विदेशी दूतावासलाई भनेका छन् । संसारभरिका मानिस आत्तिएका बेला यथार्थ स्थिति गृहमन्त्रालयले पनि सार्वजनिक गरेको छैन । गृहमन्त्री चीन भ्रमणमा छन् ।
डोल्पामा ७ जना पर्यटक हिउँमा पुरिएको खबर आउँछ, स्थानीय प्रशासन उनीहरु सम्पर्कविहीन मात्रै भएका हुन् भन्छ । तर, सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिँदैन ।
नेपाल सरकारको आफ्नो घटिया एवं पुरातन सूचना प्रणालीका कारण विदेशी पर्यटकहरु सूचना नपाएर छटपटाएका छन् । गृहमन्त्रायल या पर्यटन मन्त्रालय सूचनाहरु एकठ्ठा गर्न र संसारभरि छाएको अन्यौललाई चिर्न गम्भीर देखिएको छैन ।
दोस्रो, के नेपालको हिमाली पदयात्रा असुरक्षित नै हो त ? आवश्यक परेका बेला पर्यटकहरुलाई उद्दार गर्ने संयन्त्र नेपालमा कत्तिको सुलभ र बलियो छ ? यस विषयमा विदेशीले प्रश्न उठाउन नसक्ने गरी नेपाल सरकार र पर्यटन व्यवसायीहरुले काम गर्न सकेको देखिँदैन । यसतर्फ नेपाल सरकार र सम्बन्धित ट्रेकिङ एजेन्सीहरुले बेलैमा ध्यान दिएनन् भने नेपालको हिमाली पर्यटनलाई यसले नकारात्मक प्रभाव पार्न सक्छ ।

जेम्सका पिता स्टेव जाेहन्सन

तेस्रो, नेपालका मिडियाहरु पनि जति सम्बेदनशील र जिम्मेवार हुनुपर्ने हो, त्यति हुन सकेको देखिँदैन । मान्छे मरेको समाचार दिन हतार गर्ने, समस्याको गहिराइसम्म नपुग्ने र यति ठूलो राष्ट्रिय एवं अन्तरराष्ट्रिय विपत्ति आउँदा पनि त्यसका कारण र असरहरुबारे गहिराइसम्म पुगेर रिपोर्टिङ नगर्ने समस्या नेपालका मिडियामा देखिएका छन् ।

हिमाली क्षेत्रको व्यस्त पर्यटन बजारबारे नेपाल सरकार र सञ्चार क्षेत्रमा खासै पहुँच नदेखिँदा पनि विदेशीमा छाएको अन्योल र भयलाई चिर्न मुस्किल परेको छ ।

फेरि पनि उही प्रश्न निरुत्तरित छ, बेलायतका स्टेव जोहन्सनले आफ्नो छोराका बारेमा यथार्थ खबर कहिले पाउलान् ?

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत