Thursday, March 26, 2015

केसीको अनसनले शिक्षण अस्पतालको ओपीडी सेवा प्रभावित


सेवा सूचारु गराउन अस्पताल प्रशासनको पहल
 काठमाडौ । स्वास्थ्य क्षेत्र सम्बन्धी १० सूत्रीय माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महाराजगञ्जका आवासीय चिकित्सकहरुले आन्दोलित भएपछि शुक्रबारदेखि सेवा प्रभावित भएको छ ।
डा. केसी स्वास्थ्य क्षेत्रमा बढेको माफियातन्त्रको विरोधमा आइतवारदेखि आमरण अनसनमा बसेका छन् । यसअघि पनि उनी सोही मागहरु राख्दै चार पटक अनसनमा बसिसकेका छन् । उनको माग पूरा गरिदिने भन्दै सहमति गरिए पनि कार्यान्वयन नभएको भन्दै पाँचौ पटक अनसनमा बसेका हुन् ।

केसीको मागप्रति सरकार उदासिन भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका उनीहरुले शुक्रवार ओपीडी सेवा नै प्रभावित हुने गरी काम नगर्ने जनाएपछि अस्पतालको सेवा प्रभावित भएको हो । शिक्षण अस्पताल, महाराजगन्जका रेजिडेन्ट डाक्टरले बिहिबार बृहत भेला बोलाएर आन्दोलन चर्काउन जस्तोसुकै कदम चाल्ने निश्कर्षमा पुगेका थिए ।

अस्पताल प्रशासनले भने सेवा बन्द नहुने भन्दै विहानैदेखि ओपीडी सेवाका लागि टिकट विक्री गरिरहेको छ । आवासीय चिकित्सकहरुले सेवा दिन इन्कार गरेपछि विभागीय प्रमुखहरुबीच अस्पताल प्रशासन छलफल गरिरहेको छ । विभागीय प्रमुखहरुसँग छलफल गरी अस्पतालका सवै सेवा सूचारु गराउनेबारेमा पहल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

आइतवारदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था कमजोर हुँदा पनि सरकारको तर्फबाट भने उनको अनसन तोडाउनका लागि कुनै पहल भएको छैन ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत