डाइनेष्टिक कम्पनीले २०६२ साल देखी चुनढुङ्गा उत्खनन गर्न थालेपछि नरपानी पहाड संरक्षण र चुनढुङ्गा उत्खननको विषयलाई लिएर प्रत्येक वर्ष साना ठूला विवादहरु हुँदै आएका छन् । गाउँमा मित्रवत व्यवहार गर्दै आएका नरपानी बासीमात्र होइन पछिल्ला वर्षहरुमा जिल्लावासीहरुले समेत चुनढुङ्गाको विषयमा फरक फरक धारणा राख्दै आएका छन् ।
अझै १ महिना यता त नरपानीमा कति बेला भिडन्त हुने हो भन्ने चिन्ताले स्थानीय बासीन्दालाई सताएको छ । स्थानीय बासीन्दाको विरोधका कारण झण्डै ३ वर्ष देखि बन्द रहेको चुनढुङ्गा उत्खनन पुनः सूचारु गराउन डाइनेष्टिक कम्पनीले विभिन्न दलका लडाकु युवा संगठनका नेता तथा कार्यकर्ता परिचालन गर्न थालेपछि नरपानीमा भिडन्तको स्थिती सिर्जना भएको हो । कम्पनीले कुनै पनि हालतमा खानी सञ्चालन गरी छाड्ने र स्थानीय बासीन्दाले कुनै पनि हालतमा उत्खनन गर्न नदिने भन्ने विवादले उत्खनन प्रक्रिया अनिश्चित बन्न पुगेको छ ।
कम्पनीले सरकारले आफुलाई खानी सञ्चालन गर्ने अनुमती दिएकाले विना अवरोध खानी सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै आएको छ ,भने स्थानीय बासीन्दाहरु भने खानी सञ्चालन हुनै नसक्ने जिकिर गर्दै आएका छन् ।
चुनढुङ्गा उत्खननका कारण खानेपानीका मुहान सुकेको स्थानीय बासीन्दाको गुनासो छ । कम्पनीले जबरजस्ती गरी खानी सञ्चालनमा ल्याएमा प्रतिवादमा उत्रने स्थानीय बासीन्दाको भनाई छ ।
यता चुनढुङ्गा उत्खननको विषयलाई लिएर जिल्लामा पटक पटक सर्वदलीय छलफल र अन्तरक्रिया कार्यक्रमहरु पनि भई रहेका छन् । चुनढुङ्गा उत्खनन बारे दलहरुको बीचमा एकरुपता कायम हुन नसक्दा चुनढुङ्गा उत्खनन बारेको विवाद लामो समयसम्म निरन्तर चल्ने देखिन्छ ।,
चुनढुङ्गा उत्खननको विषयलाई लिएर राजनितिक दलहरु भित्र पनि एकरुपमा कायम हुन सकेको पाइदैन । एकिकृत नेकपा माओवादी चुनढुङ्गा उत्खनन गर्नुपर्ने पक्षमा देखिएको छ भने नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा खानी सञ्चालन गर्न नदिने पक्षमा छन् भने नेपाली कांग्रेस मध्यमार्गी भूमिकामा देखिएको छ । कांग्रेस र एमालेले आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर जनमत बटुल्ने हिसावले समर्थन र विरोधको आवाज उठाउने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
चुनढुङ्गा उत्खननको विषयलाई लिएर बुधबार सन्धिखर्कमा अन्तर क्रियात्मक छलफल समेत भएको थियो । अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरु पनि दुई खेममा विभाजित भएर मन्तव्य राखे ।
नेकपा एमालेका सचिव रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी ,नेपाल बार एशोसिएशनका अध्यक्ष के.वि भुसाल, समाजसेवि जगन्नाथ भुसाल ,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, नेपाली कांग्रेस खाँचीकोटका सभापति विष्णुप्रसाद भुसाल ,एमाले खाँचीकोटका अध्यक्ष लक्ष्मण कँडेल, पत्रकार महासंघका अध्यक्ष शोभाखर नेपाल ले खानी सञ्चालनको विपक्षमा आफ्ना तर्कहरु राखेका थिए । जिल्लाई सिमित रकम आम्दानी गर्ने नाममा अमुल्य सम्पदा क्षती गर्न नुहने उनीहरुको माग थियो ।
कम्पनीले स्थानीय बासीन्दासँग विगतमा पटक पटक संझौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै पुराना संझाँैता अक्षरस पालना नभएसम्म खानी संचालन बारे सोँच्न पनि नसकिने उनीहरुको भनाई थियो । पुरानो संझौता अनुसारको काम गर्नुको सट्टा कम्पनीले नयाँ व्यक्ति र पात्र ल्याएर जनतालाई दिग्भ्रमित पार्न खोजेको उनीहरुकोआरोप छ ।
यता एमाले निकट युवासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा उद्यमी राजु गरुङ्ग, एमाओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का उज्ज्वल, जिल्ला सहसचिव भक्त बहादुर पुन जलन, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने चुनढुङ्गा उत्खननको पक्षमा खुलेरै आफ्ना धारणा राखे । चुनढुङ्गा उत्खनन जिल्लाको उन्नती र प्रगतीको लागि अपरिहार्य रहेको उनिहरुको भनाई थियो । चुनढुङ्गा उत्खननको लागि अनुकुल वातावरण बनेमा स्थानीय बासीन्दाका सबै खाले समस्या समाधान गर्न कम्पनी र सरकार तयार रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले राजनीतिक दल र स्थानीय बासीन्दासँग पहल गरी यथासिघ्र चुनढुङ्गा उत्खनन सूचारु गर्न पहल गर्ने प्रतिवद्धता गरे ।
शोभाखर पन्थी
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत