Sunday, September 21, 2014

बस्नेतलाई ऐनविपरीत रथीमा बढुवा सिफारिस

नियमविपरीतका कुनै प्रक्रिया अघि बढ्दैन : कामु रक्षासचिव 


काठमाडौ, आश्विन ६ - सैनिक मुख्यालय जंगीअड्डाले करारमा कार्यरत प्राविधिक उपरथी नरेशबहादुर बस्नेतलाई ऐन-नियमविपरीत रथीमा पदोन्नतिका लागि सिफारिस गरेको छ। उक्त सिफारिस पारित भएमा बस्नेत नै भावी प्रधानसेनापति बन्ने बाटो खुल्नेछ। उपरथीको ५ वर्षे पदावधिका कारण करिब २ वर्षअघि नै अवकाश पाएका बस्नेत अहिले करारमा विकास निर्माण तथा स्थपति महानिर्देशनालयको प्रमुखका रूपमा कार्यरत छन्।

२०६९ पुस १५ मा पदावधिका कारण अवकाश पाएका बस्नेतलाई त्यसबेला पनि सैनिक ऐनविपरीत प्रधानसेनापति गौरवशमशेर जबराको दबाबमा 'विशेष पद' सिर्जना गरी २ वर्षका लागि थमौती गरिएको थियो। ऐन-नियममा व्यवस्था नभए

पनि संविधानसभा विघटनसँगै कामचलाउ

बनेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सेनाको सिफारिसलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरिदिएका थिए।

'नेपाली सेनामा प्रधानसेनापतिको प्रत्यक्ष निर्देशनमा रहने गरी प्राविधिक उपरथीको विशेष पद एक बढीमा दुई वर्षका लागि सिर्जना गर्ने। यसरी सिर्जित पदमा प्राविधिक उपरथी नं.१२१८ का श्री नरेशबहादुर बस्नेतलाई मिति २०६९।९।१५ देखि लागू हुने गरी बढीमा दुई वर्षका लागि नियुक्त गर्ने। सो पदमा कार्य गर्दा निजलाई प्राविधिक उपरथीले पाएसरहको सुविधा र मर्यादाक्रम उपलब्ध गराउने। निज जुनसुकै कारणबाट सो पदमा नरहेमा वा दुई वर्षको अवधि समाप्त भएमा सो पद स्वतः खारेज हुने,' मुख्यसचिव लीलामणि पौड्यालद्वारा हस्ताक्षरित तत्कालीन निर्णयमा उल्लेख छ।

बस्नेतको दुईवर्षे करार आगामी पुस १४ गते सकिने र त्यससँगै उक्त पद पनि खारेज हुने भएकाले प्रधानसेनापति जबराले रथीको पद सिर्जना गरी उनको फेरि थमौतीको प्रयास गरेका हुन्। सेनामा उपरथी दर्जाले नेतृत्व गर्ने आफ्नै कानुन विभाग -प्राड विवाक) छ। यस्तो अवस्थामा सैनिक ऐनमै व्यवस्था नभएको पदमा बढुवाका लागि प्रस्ताव गर्न मिल्छ? भन्ने प्रश्नको उत्तरमा सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने, 'सबै कुरा सैनिक ऐन-नियममा नभएको पनि हुन सक्छ। समय र संगठनको आवश्यकता महसुस गरी प्रस्ताव गरिएको हो। यसमा निर्णय गर्ने नेपाल सरकारले हो।'

बस्नेतलाई रथी बनाउने प्रस्तावले सैनिक वृत्तमा निकै चर्चा पाएको छ। यदि विगतमा जस्तै ऐन मिचेर उनको बढुवा र थमौती भए जबरापछि उनी नै प्रधानसेनापति बन्ने निश्चित छ। किनभने सेनामा अहिले रहेका रथीका दुई दरबन्दीमा कार्यरत बलाधिकृत रथी पवनबहादुर पाण्डेले आगामी माघ १८ मा र बलाध्यक्ष रथी प्रदीपविक्रम राणाले जेठ २५ मा ५८ वर्षे उमेरहदका कारण अवकाश पाउने छन्। बस्नेत रथी भए अर्को वर्ष भदौ २३ गते जबराको अवकाशसँगै प्रधानसेनापति बन्ने बाटो खुला हुनेछ।

सेनामा उपरथी बन्नका लागि नेसनल डिफेन्स वा वार कलेज कोर्स अनिवार्य छ। प्राविधिकतर्फकालाई यो बन्देज नभएकाले उनीहरू बढीमा उपरथीमात्र बन्न सक्छन्। 'कसैका लागि ऐनमै नभएको विशेष पद सिर्जना हुन्छ। ऐनविपरीत रथीमा बढुवा गरिन्छ भने प्राविधिक नै भए पनि भोलि ऊ प्रधानसेनापति बन्न किन सक्दैन? सशस्त्रमा पनि त्यस्तै भएको छ,' एक उच्च सैनिक अधिकृतले भने, 'प्रधानसेनापतिका लागि ऐनमा बेग्लै योग्यता निर्धारण गरिएको छैन। सरकारले वरिष्ठ रथीलाई प्रधानसेनापति बनाउने परम्परा छ।' सशस्त्रका अहिलेका महानिरीक्षक कोषराज वन्त पनि प्राविधिक पृष्ठभूमिबाट आएका हुन्।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत