काठमाडौ, आश्विन ६ - कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको कार्यशैलीप्रति पार्टीभित्र आलोचना बढेको छ। केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर कोइरालाको आलोचना भएको हो।
सभापति कोइरालाले ४ वर्षको कार्यकालमा पार्टीलाई संस्थागत रूपमा सञ्चालन गर्न नसकेको पार्टी बैठकमा केन्द्रीय सदस्यहरूले बताए। उनीहरूले सभापतिले बारम्बार विधि र प्रक्रियाको कुरा गरे पनि व्यवहारमा पालना नभएको भन्दै आलोचना गरेका हुन्।
बैठकमा केन्द्रीय सदस्यहरूले राष्ट्रिय प्रभाव पार्ने मुद्दाहरूमा पार्टी केन्द्रीय समितिमा छलफल नभएको, पार्टीको बैठक लामो समयसम्म नबोलाएको, विधानमै नभएको पदाधिकारी बैठकको पद्धति बसालेर केन्द्रीय कार्यसमितिलाई निर्णय सुनाउने थलोका रूपमा परिणत गर्न खोजिएको बताएका थिए। कोइरालाले साढे सात महिनापछि गत भदौ ३० मा केन्द्रीय समितिको बैठक बोलाएका थिए। आइतबार बैठक त्यसैको निरन्तरता हो। कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विधान, विधि र पद्धतिको मुद्दा उठाएर १२औं महाधिवेशनमा निर्वाचित भएका सभापति कोइरालाले आफ्नो ४ वर्षको कार्यकालमा त्यसलाई पूरा गर्न नसकेको बताए। 'सभापतिको विधान, विधि र पद्धति भन्ने कुरा मात्रै भयो,' कार्कीले भने। विधानले व्यवस्था गरेको भन्दा विपरीत संस्था खडा गरेर केन्द्रीय कार्यसमितिलाई कमजोर बनाउने काम भएको उनले बताए।
पार्टी महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने कार्यसम्पादन समिति नबनाएर विधानविपरीतको पदाधिकारी बैठकको पद्धति बसालेकोप्रति कार्कीसहित सबैजसो केन्द्रीय सदस्यले विरोध गरेका थिए। कार्कीले सरकारको प्रभावकारिता नदेखिएको भन्दै मन्त्रीहरूको काम गर्ने शैलीको पनि आलोचना गरे। 'सरकारको प्रभावकारिता सरकारमा बस्नेलाई मात्रै होला, तर आम जनताको दृष्टिमा सरकारको उपस्थिति कतै देखिन्न, नयाँ डेलिभरि गर्न सकेको पनि छैन,' कार्कीले बैठकमा राखेको भनाइ उद्धृृत गर्दै स्रोतले भन्यो, 'अप्रेसन सफल हुने र तर बिरामीको निधन हुने अंग्रेजी उखानजस्तै यो सरकारको अवस्था छ। सरकारको नेतृत्व पाएर पनि नेतृत्वदायी भूमिका खेल्न सकेको छैन।'
केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सञ्चालनको कार्यशैलीमा परिवर्तन नदेखिने हो भने संगठन नै समाप्त हुने खतरा देखिएको बताए। 'यस्तै तरिकाले पार्टी गयो भने यसको भविष्य छैन,' केसीले भने। उनले सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबिनाको बैठकमा धेरै बोल्नुको अर्थ नरहेको भन्दै पार्टीर्लाई संस्थागत रूपमा अघि नबढाए भविष्यमा कांग्रेस कमजोर हुने ठोकुवा गरे। कोइराला संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न शुक्रबार न्युयोर्क गएका छन्। देउवा कार्यक्रमको सिलसिलामा आइतबारै नेपालगन्ज गएका छन्। कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा आइतबार आठ केन्द्रीय सदस्यले धारणा राखेका थिए।
केन्द्रीय सदस्य प्रकाशशरण महतले अधिकांश केन्द्रीय सदस्यहरू सभापति कोइरालाको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताए। 'नेताहरू छन् तर नेतृत्व छैन भन्नेजस्तो स्थिति मुलुक र पार्टीभित्र पनि देखिएको छ,' उनले भने। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको सक्रिय सदस्यता वितरण र नवीकरण भदौ मसान्तबाट मंसिर मसान्तसम्म थप गरिएको जानकारी बैठकलाई गराएका थिए।
नेविसंघको महाधिवेशन सातौं पटक घोषणा कांग्रेसले भ्रातृसंस्था नेविसंघको ११औं महाधिवेशन सातौं पटक घोषणा भएको छ। बैठकले महाधिवेशन कात्तिक ३० देखि मंसिर २ सम्म राजधानीमा हुने गरी घोषणा गरेको हो। पछिल्लो पटक भदौ २९ गते सुरु हुने भनिएको महाधिवेशन अघिल्लो दिन स्थगित गरिएपछि पार्टीभित्र र बाहिर समेत पार्टी नेतृत्वको आलोचना भएको थियो। तीन वर्षअघिदेखि नै नेविसंघको महाधिवेशनको तिथि तोक्दै स्थगित हुँदै आएको छ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत