काठमाडौ, आश्विन ५ - नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पानीदेखि पत्रकारितासँगै फिल्म र किताबसम्म बहस भए। मुलुकको जलस्रोत र त्यसको उपयोगिताबारे चर्चा गर्दै सुरु भएको दोस्रो दिनका सेसनहरू पत्रपत्रिकाको सम्पादकीय स्वतन्त्रतादेखि फिल्ममा लैंगिक चित्रणसम्मका सन्दर्भहरूमा केन्दि्रत भए। विदेशी पत्रकारहरूले पनि अनुभव सुनाए। 'पानी भएर के भो?' शीर्षकको सेसनमा वक्ताहरूले मुलुकको अथाह जलस्रोत र ऊर्जा उत्पादन तथा व्यापार र सन्धिहरूमा यसको भूमिकाबारे बोलेका थिए। पत्रकार किरण नेपालले सञ्चालन गरेको यो सेसनमा डा. दीपक ज्ञवाली, डा. डम्बर नेपाली र केशवध्वज अधिकारी प्रस्तुत भएका थिए।
प्रतिभा तुलाधरले इटालेली लेखक तथा पत्रकार कार्लो पिज्जाटीसँग पत्रकारिता र आख्यान लेखन बीचको फरक र समानताबारे चर्चा गरिन्। त्यही बेला डबलीमा भने साहित्यकार खगेन्द्र संग्रौला आफ्नो अमेरिका भ्रमणलाई पाताल यात्राको संज्ञा दिँदै दर्शकमाझ अनुभव बाँडिरहेका थिए। हिमाल साउथ एसिएनकी सम्पादक अनोहिता मजुम्दारले क्यानाडेली पत्रकार मेथ्यु एइकिन्ससँग अफगानिस्तानमा बसेर पत्रकारिता गर्नुका चुनौती र अरू ठाउँ र यसमा पाइने भिन्नताबारे गरिएको परिचर्चा पनि रोचक थियो। 'चुनौतीमै पत्रकारितामा असली मज्जा आउँछ,' पत्रकार मेथ्यु भन्दै थिए।
पत्रकारिताकै अर्को पक्ष 'सम्पादकीय स्वतन्त्रता' बारे लेखक विष्णु सापकोटाले तीन पत्रकारहरू ध्रुवहरि अधिकारी, सुधीर शर्मा र प्रकाश रिमालसँग छलफल चलाए। उनीहरूले सम्पादकीय स्वतन्त्रतामा सञ्चार क्षेत्रको उत्तरदायित्व र नेपाली सञ्चारमाध्यममा सम्पादकलाई प्राप्त हुने स्वतन्त्रता र चुनौतीबारे अनुभव बाँडे। 'विचार पृष्ठका आधार' पनि पत्रकारितासँगै सम्बन्धित थियो। यसमा पत्रकार संगीता लामा, विश्वास बराल र ध्रुव सिम्खडाले विचार पृष्ठमा बढी स्थान पाउने सामग्री र यसमा महिला र समाजका मुद्दाको उपस्थितिबारे छलफल चलाए। प्रनिका कोयूले सञ्चालन गरेको यो सेसनमा उनीहरूले पत्रिकाको विचार पृष्ठका सामग्री छनोटका प्रक्रिया र मापदण्डबारे पनि बोलेका थिए। सेसन चौकठ समूहले संयोजन गरेको थियो।
केहीअघि बिहे भएपछि निजी जीवनबारे धेरै नै खुलेर बोल्न थालेका अभिनेता राजेश हमाल दोस्रो दिनको अर्को आकर्षण बने। उनले लेखक अर्चना थापासँगको छलफलमा वास्तविक जीवन, सञ्चार र चलचित्रमा पुरुष र लैंगिकताको चित्रणबारे बोले। शनिबार फेस्टिभलमा ईश्वर कँडेलको उपन्यास 'इकोज' लोकार्पणसमेत गरिएको थियो। साहित्यकार सञ्जीव उप्रेती, एलबी क्षेत्री र सगुना शाहले कृति सार्वजनिक गरेका थिए। 'नेपालको फस्टाउँदो पठन संस्कृतिलाई यस्ता छलफल र अन्तरक्रियाले सघाउँछजस्तो लाग्छ,' फेस्टिभल निर्देशक अजित बरालले भने। फेस्टिभलको यो चौथो संस्करणमा ५ विदेशी र एक सयभन्दा बढी स्वदेशी लेखकहरू सहभागी छन्।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत