Saturday, September 27, 2014

कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, सार्क सम्मेलनको तयारीबारे छलफल

२०७१ असोज १२ गते 
द्धिपक्षीय सम्बन्धमा नयाँपन आएको 

१२ असोज, काठमाडौं । न्युर्योक भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । शनिबार न्यूयोर्कस्थित न्यूयोर्क प्यालेस होटलमा भएको भेटवार्तामा दुइदेशको आपसी सम्बन्ध, सार्क सम्मेलनको तयारी, भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रधानमन्त्री कोइरालाले भने आफू स्वस्थ भैसकेको बताएका थिए ।

वार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्रीको गत साउनमा सम्पन्न नेपाल भ्रमण पछि द्धिपक्षीय सम्बन्धमा नयाँपन आएको बताए । उनले भ्रमणकालमा भएको समझदारी अनुरुप नै डेढ महिनाभित्र विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी जीएमआरसंग लगानी बोर्डले आयोजना विकास संझौता गरिसकेको जानकारी गराए । प्रधानमन्त्री कोइरालाले नेपाल लगानीको लागि अनुकूल बन्दै गएको पनि उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले सार्क शीखर सम्मेलनको तयारीका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए । वार्तामा सहभागी परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र पाण्डेका भारतीय समकक्षी शुषमा स्वराजले सार्कको शीखर सम्मेलनको तयारीका बारेमा माल्दीभ्समा सम्पन्न मन्त्री स्तरीय बैठकमा विशेष छलफल भएको जानकारी दुवै प्रधानमन्त्रीलाई गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनको अवसरमा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने रहर पुरा हुने विश्वास पनि व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्र्संघको ६९ महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री शुक्रबार न्यूयोर्क पुगेका हुन् । कोइराला शनिबार बिहान महासभालाई सम्बोधन गरिसकेका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत