Tuesday, September 23, 2014

‘अधिकारकर्मी’ ले मारे अधिकारीलाई

कुसुम भट्टराई
काठमाडौं, असोज ७ – नन्दप्रसाद अधिकारी रहेनन् । कथित मानवअधिकारवादीहरुको मागी खाने अस्त्र खोसियो । नन्दप्रसाद रहेनन्, सायद एमाओवादीविरुद्ध प्रोपोगण्डा मच्चाउने ‘डलरमणी’हरु चिन्तामा होलान् । सायद उनीहरु अर्को नन्दप्रसादको खोजी गर्दै होलान् । पाटन ढोकादेखी अनामनगरसम्मका सुकीला मुकीला, डलर डकारीहरेका कथित मानवअधिकारवादीहरु यतिबेला गोहीको आँसु झार्दै होलान् ।
यसमा कुनै शंका छैन, नन्दप्रसादको हत्या नेपालका कथित मानवअधिकारवादीले नै गरेका हुन् । यसमा कुनै दुई मत छैन, नन्दप्रसादलाई मुत्यु तर्फ उक्साउने काम डलरमणीहरुले नै गरेका हुन् । द्वन्द्वलाई मागी खाने भाँडो बनाउन पल्किएका डलर पिपासुहरुले नन्दप्रसादलाई अनसनका लागि उक्साए । उक्साउन त उक्साए, तर उनको ज्यान बचाउने कोशीस गरेनन् । नन्दप्रसादले उठाएको माग सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान हुन्छ भनेर सम्झाएनन् । बरु उनलाई अनसन बस्न उक्साइरहे । त्यसकै आडमा डलरको खेती गर्ने परपिडक, देशघाती, राष्ट्रघाती मानवअधिकारवादीको स्वार्थको पासोमा परे–नन्दप्रसाद ।
नन्दप्रसादको मृत्यु कथित मानवअधिकारवादीहरुको इमानको मृत्यु हो । उनीहरुको विवेकको मृत्यु हो । उनीहरुको लोक लाज र नैतिकताको मृत्यु हो । उनीहरुको शरीरबाट न्यायको सर्ट उत्रिएको छ । उनीहरुको शरीरबाट मानवताको कट्टु फुस्कीएको छ । उनीहरुको शरीरमा अब कुनै पनि पोशाक छैन । सोझा गाउँले दम्पतीलाई भड्काएर, उक्साएर, भय र प्रलोभन देखाएर काठमाडौं ल्याउने र उनीहरुलाई मुत्युको मुखसम्म पुर्याउने गरी अनसनमा बसाल्ने काम डलरमणीहरुले गरे । त्यसैले नन्दप्रसादको मृत्युको मुख्य दोषी उनीहरु नै हुन । मुख्य अभियुक्त उनीहरु नै हुन । नेपालमा यदि फाँसीको सजाय हुन्थ्यो भने यो अपराधमा सबैभन्दा पहिले डलरमणीहरुलाई नै फाँसी दिनुपर्ने हुन्थ्यो ।
गत वर्ष भदौ २३ मा नन्दप्रसाद र गंगायामा अधिकारीले सरकारी प्रतिनिधि सामु ४८ औं दिनमा अनसन तोडेका थिए । सरकार अधिकारी दम्पतीका माग पुरा गर्न सहमत पनि भएको थियो । सरकारसँग तीन बुँदे सहमती भएपछि उनीहरुले अनसन तोडेका थिए । त्यसैताक अधिकारी दम्पतीका जेठा छोरा नुरप्रसाद अधिकारीले सरकारसँग तीन करोड रुपैयाँ मागेका खबरहरु पनि आएका थिए । यसबाट अधिकारी दम्पतीलाई अनसनका लागि उक्साएर सरकारबाट करोडौं झार्ने र त्यसमा भागबण्डा गर्ने नियत पनि कतिय मानवअधिकारवादीको त थिएन भन्ने आशंका उब्जिएको थियो । नभन्दै, डलरमणीहरुले त्यसलाई फेरी ब्युताउँने षडयन्त्र गरे । र, फेरी अधिकारी दम्पतीलाई अनसनमा ल्याए ।
नेपालका डलरमणीहरु हाकाहाकी लाजै नमानी डलर खेतीका लागि निकृष्ट काम गर्न पछि पर्दैनन् । उनीहरुको हर्कतको एउटा पाटो आर्थिक मोह हो भने अर्को पाटो मुलुकको अग्रगामी परिवर्तनको गति रोक्नु पनि हो । चीनको बढ्दो प्रभावका कारण नेपालमा पश्चिमा शक्तिहरु कमजोर भइरहेका छन् । चीन र भारतको सद्भावका साथ नेपालको शान्ति र संविधान प्रकृया अगाडी बढेमा मुलुकमा स्थायी शान्ति कायम हुन्छ । नयाँ संविधानमार्फत मुलुकका हरेक समुदाय, उत्पीडीत वर्ग र क्षेत्रको समानुपातिक विकास भएमा मुलुक आर्थिक एजेण्डामा प्रवेश गर्छ । सबै नेपालीहरु मिलेर मुलुकको विकासमा सहभागी भएमा साधन र स्रोतले भरीएको यो मुलुक छोटो समयमै समृद्ध हुन्छ । देश समृद्ध भएमा द्वन्द्वको अवस्था रहँदैन ।
नेपालमा द्वन्द्व नभएपछि त्यसकै आडमा डलरको खेती गर्नेहरुको धन्दा चौपट हुन्छ । नेपालमा माओवादी बढे, कम्युनिष्ट बढे, कम्युनिष्टले सत्ता कब्जा गरे, मावअधिकार हनन गरे, हिंसा मच्चाए भन्दै डलर झार्ने दाउ बाँकी रहँदैन । द्वन्द्वका आडमा नेपालमा पश्चिमा सैनिक सहयोग भित्रिने गुञ्जायस पनि रहँदैन । अनी त्यसकै आडमा नेपालमा बेस बनाएर चीनलाई घेर्ने पश्चिमाहरुको चलखेल गर्ने बाटो पनि रहँदैन ।
यही कारण पश्चिमा शक्तिको आडमा नेपालका डलरमणीहरु मुलुकको शान्ति र स्थायीत्वको अभियानमा बाधा पुर्याउँदै आएका छन् । नेपालमा कसरी गुमेको प्रभाव फर्काउने, कसरी मुलुकको शान्ति र संविधान प्रकृयामा बाधा डाल्ने, कसरी संक्रमण लम्ब्याइरहने र त्यसकै आडमा मस्ती मार्ने भन्ने ध्याउन्नमा लागेका डलरमणीहरु पश्चिमासँग करोडौं रुपैयाँ लिइरहेका छन् । यो तथ्य त हालै डलरमणीका एक नेताले नर्वेसँग ६ करोड रुपैयाँ लिएको सप्रमाण खुलासाबाट पुष्टी हुन्छ ।
पश्चिमाले फालेको हाडमा रमाएका नेपाली भुस्याहा कुकुरहरु बेला बेलामा पश्चिमा स्वरमै भुक्ने गर्छन् । खासगरी एमाओवादीलाई हत्यारा साबित गर्न उनीहरु चिल्ला कागजदेखी टिभीका चम्कीला भित्ताहरुसम्म भुक्ने गर्छन् । त्यसरी भुक्नका लागि उनीहरुलाई कुनै न कुनै आधार चाहिन्छ । नन्दप्रसाद अधिकारी दम्पतीको अनसन पनि त्यही भुक्ने बहाना बनिरहेको थियो, डलरमणीहरुलाई ।
द्वन्द्व नेपालमा मात्र भएको हैन । संसारमा धेरै मुलुकमा द्वन्द्व भएका छन् र समाधान पनि भएका छन् । विश्वका अधिकांश मुलुकको द्वन्द्वमा एउटा पक्षले जितेको, अर्को पक्ष हारेको र जनधनको ठूलो क्षती भएको पाइन्छ । एउटा पक्षले अर्को पक्षलाई समाप्त गरेपछि मात्र द्वन्द्व समाधान भएको पाइन्छ । जहाँ युद्ध लम्बिइरहयो, त्यो देश आर्थिक रुपमा हरी कंगाल भएको पाइन्छ । नेपाली द्वन्द्व नै यस्तो बनिदियो, जसले शान्तिपूर्ण रुपान्तरणको नयाँ कोर्स समात्यो । कोही नहार्ने बरु, सबैले जित्ने मोडेल विकास भयो । भारतमा अझै पनि माओवादीहरु जंगलमै छन् । तर नेपालका माओवादीहरुले शान्तिपूर्ण वार्ताको माध्यमबाट बृहत शान्ति सम्झौता र बाह« बुँदे सम्झौताको जगमा हतियारको व्यवस्थापन गरे । यो विश्वकै अनुपम उदाहरण हो, जसलाई हालै मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा मात्र हैन, १५ अगस्तमा लाल किल्लामा आयोजित समारोहमा पनि सराहना गरे । उनले भने, ‘शस्त्रमा विश्वास गर्ने नेपालीहरु अहिले शास्त्र (संविधान) निर्माणमा जुटेका छन् ।’
मुलुकमा जुन शान्ति प्रकृया सुरु भएको छ, त्यसको मुल मर्म नै के हो भने विगत द्वन्द्वमा जे भयो भयो, अब त्यसलाई न दोहोर्याउँ । सबै नेपाली मिलेर देश बनाउँ । त्यही भएर त रायमाझी आयोगका दोषीले पनि माफी पाए । दोरम्बा हत्याकाण्डका दोषी पनि उम्किए । द्वन्द्वकालमा भएका सबै घटना नेपालीले बिर्सिए । पुराना घटना सम्झिदाँ रिस राग बाँकी रहन्छ, त्यसले फेरी द्वन्द्व निम्तिएला भनेर दुबै पक्षले हात मिलाए । भनेजती संख्या नपाए पनि एमाओवादीका लडाकुहरु सेनामा समायोजित भए । पार्टी विभाजनको पिडा भोगेर पनि प्रचण्ड र बाबुरामले मुलुकको शान्ति र संविधान प्रकृयालाई अवरुद्ध हुन दिएनन् । अनेकौं आरोप र निर्वाचनमा पराजय भोगेर पनि एमाओवादीले जनताको शान्तिको चाहनालाई सम्मान गरिरहेकै छ ।
काँग्रेसले भन्यो, वाइसीएल विघटन गर, एमाओवादीले गरिदियो । काँग्रेसलगायत डलरमणीहरुले भने, ‘सेना रहेसम्म एमाओवादी नागरिक पार्टी हुँदैन’ । लौ त सेना पनि समायोजन भयो, एमाओवादी नागरिक पार्टी पनि भैदियो । हुँदा हुँदा विद्रोहका कुरा गर्ने वैद्य र बादलले पनि पार्टी छोडेर गए । यसरी एमाओवादीलाई हत्यारा र आतंककारी सावित गर्ने सबै उपाय खत्तम भएपछि डलरमणीहरु लागे, द्वन्द्वका मुद्दा ब्युताउँन । किनकी, वर्तमानमा त एमाओवादीलाई खेद्ने कुनै उपाय छैन, त्यसैले पिशाच मानसिकता बोकेकाहरु भूततीर लागे । द्वन्द्वको भूत ब्यूँताउन लागे ।
कहिल बाँदर मुढे घटना, कहिले फुजेल घटनाका राग अलाप्न थालियो । कथित मानवअधिकारवादी, मिडियाका विकासे पत्रकार र नागरिक समाज भनाउँदा पनि त्यसकै लहलहैमा लागे । विगतमा भएका घटनाहरु चिहानमा गएर खोस्रीने काम भयो । जबकी यो समय चिहान खोस्रने त पक्कै हैन । चिहानमा उम्रिएको फुल टिप्न माहिर डलरमणीहरुले नन्दप्रसादलाई फेला पारे । उनलाई असनमा उतारे । अन्ततः मारे ।
यदि नन्दप्रसादको आत्माले कतैबाट हेरिरहेको छ र आत्मा सत्य हुन्छ भन्ने कुरा साँचो हो भने पक्कै पनि डलरमणीहरुलाई उनको आत्माले सरापिरहेको होला । र भनिरहेको होला, ‘खर्बरदार म त मरें, अब मेरी पत्नीलाई मार्न पाउन्नौँ । तिमीहरुको डलर धन्दामा मेरी पत्नीको दुरुपयोग गर्न पाउन्नौँ
ratopati

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत