Saturday, September 27, 2014

नेपालीहरु भारतमा लुटिएर वेवारिसे अवस्थामा


दशैंमा आफ्नैबाट लुटिन्छन् भारतबाट फर्केका नेपाली 

भैरहवा, असोज ११ – नेपालीहरुको महान पर्व दशैं शुरु भए लगत्तै स्थल मार्ग हुदै नेपाल भित्रिने नाकाको रुपमा परिचित मुलुककै दोस्रो ठुलो नाका रुपन्देहीको बेलहिया हुदै भारतमा कार्यरत हजारौँ नेपालीहरु आफ्नो मुलुकमा फर्किरहेका छन् । अहिले बेलहिया नाका नेपाली र बाह्य पर्यटकहरुको आगमनले भरिभराउ रहेको छ । वर्षौंपछि दशै मनाउन आफ्नो देश कोही उपहारै उपहार लिएर फर्किदै छन् त कोही भारतमा लुटिएर वेवारिसे अवस्थामा फर्किरहेकोे छन् ।
भारतबाट बेलहिया नाका हुदै दैनिक रुपमा हजारौँ नेपाली नागरिकहरु नेपाल भित्रिरहेका र दशै, तिहारका कारण जिल्लामा अपराध बढ्ने सम्भावना रहेकोले प्रहरीले पनि विशेष सुरक्षा योजना लागु गरी दशै तिहारलाई सभ्य र भव्य बनाउन पहल गरिरहेको छ ।

हर्षोउल्लाषका साथ नेपाल प्रवेश
लामो समय भारतका बिभिन्न स्थानमा बसी अहिले दशै र तिहारको बेला नेपालमै परिवार सित मिठो खाने राम्रो लगाउने आशले नेपालीहरु ह्र्षोउल्लासका साथ नेपाल भित्रिरहेका छन । भारतको दिल्ली शहरमा चौकीदारी काम गरि रहेका स्याङ्गजा दामाचौरका ४५ वर्षीय सुर्य बहादुर रायमाझी ३ वर्ष पछि आफ्नो देश दशै मनाउन फर्कि रहेका थिए । बेलहिया नाकामा भेटिएका रायमाझी भन्छन्– ‘धेरै वर्ष भएको थियो आफ्नो परिवारसगँ दशै मनाउनका पाएको थिएन त्यही भएर यस बर्ष परिवारसगैँ दशै मनाउन आफ्नो घर फर्केको छु ।’
यसै गरि भारतको जम्मुमा भारतीय सेनामा कार्यरत पाल्पाका ३४ वर्षीय हरि बहादुर गर्बुजा मगर पनि दशै मनाउनका लागि आफ्नो घर फर्किएका छन । बेलहिया भन्सारमा आफ्नो झोला चेकजाँच गराउँदै उनले खुशी मुद्रामा भने ‘सेनाको जागिर हो, जम्मु जस्तो स्थानबाट जहिले भन्यो त्यत्ति बेला घर आउन पाइदैन तर अहिले परिवारसगँ दशै मनाउनका लागि नै भनेर ५ वर्ष पछि घर फर्किदै छु ।’

यी दुई नेपाली त प्रतिनिधि पात्र मात्र हुन अहिले भारतलाई कर्मथलो बनाएका नेपालीहरु घर फर्किदा आफुहरुलाई अत्याधिक खुशी भएको बताएका छन । बर्षौ देखि बिदेशी भूमिमा कर्मथलो बनाएका यी नेपालीलाई आफ्नै देशमा केही गर्ने ईच्छा नभएको हैन राज्यले नै त्यसको ब्यावस्था नगरिदिएको अधिकांश नेपालीहरुको गुनासो रहेको छ । परिवारबाट छुट्टिने कसको रहर हुन्छ र तर राज्यले नै त यहा केही गर्न सक्दैनस भनेर लखेटेको गुल्मीका रमेश ज्ञवालीले गुनासो गरे ।

आफनैबाट लुटिदैछन्
दिल्लीमा टेन्टको काम गरि रहेका धादिङ्ग मैदी २ का लेख बहादुर राना र सोही ठाउका टेक बहादुर गुरछयाङ्ग नेपाल आउने क्रममा नेपालीबाटै लुटिएका छन । अर्ध बेहोस अवश्थाम रुपन्देहीको ईलाका प्रहरी कार्यालय बेलहियामा भेटिएका दुवै जनाका आखा रसाएका थिए । केही बिसेक भएका रानालाई घटनाबारे जानकारी लिदा दिल्लीबाट आउने क्रममा पाल्पा घर बताउने एक जना साथी भेटिएको र उनी सहित ३ जनाले नै एकै ठाउमा होटलबाट अण्डा खरिद गरि खाएका थिए । अण्डा खाएर बसमा हिडेको केही बेर पछि नै आफुहरु बेहोस भएको उनले बताए । बिहान केही होस खुल्दा आफु सित भएको १२ हजार र गुरछयाङ्गको १ लाख २० हजार रुपैया लगायत झोला सहित लुटेर लगेको थाहा भएको उनले बताए ।

“बर्षौ देखि खुन पसिना बगाएर कमाएको रकम बाल बच्चा सित मिलेर रमाईलो मानी खर्च गरौला भन्ने थियो । अब कुन मुख लिएर घर जाने हो” भन्दै राना कल्पिरहेका थियो ।

भारतमा वर्षो देखि कार्यरत नेपाली नागरिकहरुलाई नेपालीले नै यात्राको क्रममा नाता सम्बन्ध बनाई भारतमै लुट्ने क्रम पनि बढ्दो रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मी बताउँछन् ।
यात्राको क्रममा प्राय लुटेराले लुटने व्यक्ति घर ठेगाना सोध्ने गरेको र आफ्नो पनि ठेगाना त्यही नजिकै रहेको बताएर कुरामा फसाउदै विश्वास जित्ने गरेको र त्यसपछि खाने वस्तुमा बेहोसीको औषधी मिलावट गरी लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

हेल्प डेस्कको मध्यामबाट सहयोग

भारतबाट फर्किरहेका नेपालीहरुको साहयताको लागि रुपन्देही प्रहरीले बेलहिया नाकामा हेल्प डेस्कको स्थापना गरेको छ । विगतमा धेरै यात्रुहरु अलपत्र पर्ने गरेको, लुटिने, दुव्र्यहार हुने गरेको घटनालाई मध्येनजर गर्दै प्रहरी हेल्प डेस्क स्थापना गरेको प्रहरीले जनाएको छ । यसबाट भारतबाट फर्किएका नेपालीहरु यातायात, होटल, गाडी भाडा, खाना लगायतका सम्बन्धमा जानकारीहरु लिइरहेको इप्रका बेलहियाले जनाएको छ ।

मनोमानी भाडामा नियन्त्रण
यस अभि दशै मनाउन फर्किरहेका नेपालीहरुसगँ मनोमानी रुपमा भाडा लिएको खबर आई रहेकोमा यस बर्ष त्यसमा कमि आएको छ । प्रहरीले मनोमानी रुपमा भाडा लिने र सवारी साधनमा भाडा लिष्ट नटास्नेहरुलाई धमाधम कार्यवाही गर्न गाले पछि यसमा कमि आएको हो हामीले बस व्यवसयाीहरुले मनोमानी रुपमा भाडा असुल्न गरेको सुइको पाएपछि यहाँका बस व्यवसायी समितीलाई भाडाको मूल्य सुचि अनिवार्य रुपमा राख्नलाई लगाएका छौँ बेलहियाका प्रहरी निरीक्षक रेग्मीले भने ।

आउने भन्दा जाने बढी
दशै नजिकिदै जादा सीमा पारीका पसलहरुमा खरिद गर्न नेपालीहरुको घुइृचो बढदै गएको छ । दाल, चिनी, चामल, कपडा, साबुन, लगायतका सम्रागीहरु खरिद गर्नका लागि दैनिक हजारौ नेपालीहरुको सुनौली बजारमा ताँती लागेको छ । भारतमा सस्तो मूल्यमा साम्रगीहरु पाउने गरेको मानस्किताले रुपन्देही,पाल्पा, गुल्मी लगायत टाढाटाढाबाट नेपालीहरु भारतीय बजार सुनौलीमा धाइरहेका छन् । अहिले बेलहियाको दृश्य देख्दा कुनै मेला लागे जस्तो देखिन्छ, भारतबाट नेपाल आउने भन्दा नेपालबाट भारत तर्फ जानेको संख्या धेरै रहेको सहज अनुमान लगाउन सकिन्छ ।

सुरक्षा व्यवस्था कडा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर बिशेष सुरक्षा रणनिति अपनाएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले दशै तिहाारमा बिशेष सुरक्षा अपनाईएको बताएका हुुन । सुरक्षा ब्यावस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कमाण्डमा रहने गरि ७४ वटा स्थायी डयुटी रहने छ । यसै गरि २४ सै घण्टा रहने गरि ४२ वटा पिकेट, पैदल गस्ती १९ वटा, मोटर साईकल तथा साइकल गस्ती ३० वटा र गाडी मोबाईल तथा चेकिङ्ग २१ वटा रहने एसपी ढकालले जनाए । कपिलबस्तु सीमाना देखि नवलपरासी सीमाना सम्म दिन र रात रहने गरि ६ टोली तथा सिद्धार्थ राजमार्गमा ३ टोली खटाईएको उनले बताए ।
यसै गरि भारतमा काम गर्न गएका नेपालीहरु दशैंमा बिगतका बर्षमा लुटिएको खबर आएकोले यस बर्ष सो रोकथाम गर्न भारतको गोरखपुर, लखनउ सम्म र जिल्ला भित्र पनि आवश्यकता अनुसार सादा पोशाकका प्रहरी कर्मचारी खटाएको ढकालले बताए । यस अतिरिक्त सुरक्षित साथ गन्तब्य स्थानमा पुरयाउन पर्चा, पम्पलेटिङ्ग, स्टिकर, हेल्प डेस्क तथा बिभिन्न सचेतना मुलक कार्यक्रम गरि सहयोग पुरयाउने ढकालले जनाए । नेपालमा पनि यात्रीहरुलाइृ ठगिनबाट जोगाउन सवारी साधनलाई ब्यवस्थित गरि रहेको ढकालको दावी छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत