Tuesday, October 7, 2014

भिआइपी सुरक्षा पनि भगवान भरोसामा


काठमाडौं, असोज २२ 
देशका विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था भगवान भरोसामा चलेको छ। आधुनिक प्रविधि तथा विशिष्टकृत सुरक्षा फोर्स अभावले विशिष्ट व्यक्तिहरूको सुरक्षामा अदृश्य थ्रेट बढ्दै गएको छ। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

नेपालमा भिआइपीको सुरक्षा हचुवाकै भरमा चलेको नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको बुझाइ छ।'इन्टेलिजेन्सी र थ्रेट मुल्यांकनको आधारमा भिआइपी सुरक्षा प्रणाली लागू हुनुपर्छ,'ढकाल भन्छन्,' अहिले हाम्रो प्रणालीमा निकै कमजोरी छ।'

भिआइपीको सुरक्षालाई व्यवस्थित र विशिष्टीकृत बनाउन नसके भविश्यमा त्यसले नराम्रो परिणाम भोग्नुपर्ने उनको भनाइ छ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने विशिष्ट व्यक्तिहरूको सुरक्षामा केही कमजोरी हुनसक्ने बताए। तर, बलियो बनाउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘स्रोत–साधनको अभावमा पनि कमजोरी हुनसक्छन्, हामी सुधारका काम गरिरहेका छौँ।’

नेपाल प्रहरीमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि डिआइजीको नेतृत्वमा सुरक्षा सेवा निर्देशनालय छ। तर, निर्देशनालयमा सामान्य किसिमको भिआइपी सुरक्षा तालिम गरेका व्यक्ति मात्र छन्।

सशस्त्र प्रहरी र नेपाली सेनाको पनि विशिष्ट व्यक्ति सुरक्षाका लागि छुट्टै फोर्स छैन। तुलनात्मक रूपमा पिएसओमा खटाउनेलाई सेनाले उच्चस्तरको तालिम दिने गरेको छ।

छिमेकी मुलुक भारतमा भिआइपीहरूको सुरक्षाका लागि छुट्टै फोर्स छ। इन्टेलिजेन्समा आधारित भिआइपी सुरक्षा प्रणाली छ भने सुरक्षामा विज्ञ अधिकारी नै खटिने गरेका छन्।



भिआइपीको सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत फोर्स गठन गर्नुपर्ने पूर्वएआइजी ढकाल बताउँछन्। प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्रीलगायत उच्चपदस्थ अधिकारीको सुरक्षामा तीनै निकायका सुरक्षा अधिकारी खटिने गर्छन्। तर, उनीहरूबीच समन्वय राम्रो नहुँदा भिआइपी सुरक्षामा समस्या हुने गरेको छ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत