Monday, October 6, 2014

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो (मृतकहरुको नामावलीसहित)






धनगढी, असोज २१– डोटीको बुडर–जोरायल राजमार्गअन्तर्गत छतिवन गाविसको बनलेक सडकखण्डमा सोमबार अपराह्न भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

प्रहरी र स्थानीयवासीले दुर्घटनामा घाइते भएका ६८ जनाको उद्धार गरेका छन् भने अझै केही घाइते भएको हुन सक्ने अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृतक सबैको सनाखत भएको छ । दुर्घटनामा परी सरस्वतीनगर गाविस–१ की २५ वर्षीया सकुन्तला मल्ल, ५० वर्षीय दानबहादुर साउद, सरस्वतीनगर–२ का ४० वर्षीय राजेन्द्र शाही, दुई वर्षीया रोहिता बोहोरा, २५ वर्षीया ठकुलीदेवी ओझा, ६२ वर्षीया हिरादेवी ओझा, ३२ वर्षीय कर्णबहादुर शाह, दुई वर्षीया वसन्ता ओझा, चक्र विक र वडा नम्बर–३ का २७ वर्षीया शान्ति मल्ल रहेका छन् ।

त्यसैगरी वडा नम्बर ५ का ३५ वर्षीया डम्मरी ओझा, ३० वर्षीया रेवन्त खडायत, वडा नम्बर–६ का ४५ वर्षीय कृष्णराज भण्डारी, १७ वर्षीया भूमिराज भण्डारी, वडा नम्बर ८ का टेकराज भट्ट, २४ वर्षीय पशुपति भट्ट र १६ वर्षीया जानकी भट्ट रहेका छन् ।
त्यस्तै कैलाली लम्कीका २८ वर्षीय भागिरथ बडुवाल र जेनिथ बडुवाल रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बर्छेन–१ का ३० वर्षीया लक्ष्मीदेवी कलेल, लक्ष्मीनगर–१ का तीन वर्षीया शान्ति कपडेल, वडा नम्बर–५ का ३० वर्षीय टेकेन्द्र गिरी, डडेल्धुरा खलगाका ३५ वर्षीय लक्ष्मण ठकुराठी, एक वर्षीया सन्ध्या ठकुराठी र मुकेश सार्की रहेका छन् ।
दुर्घटनापछि प्रहरी उद्धारमा जुटेकाले मृतकको सनाखत हुन ढिलाइ भएको हो । स्थानीयवासी र प्रहरीको टोली उद्धारमा जुटेको भएपनि रात परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २८ जनालाई कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको छ ।

जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ३ ख ५७०७ नंंको बस उक्त सडकखण्डमा झन्डै तीन सय मिटर तल खसेर दुर्घनाग्रस्त भएको हो ।

वर्षायाममा ठाउँठाउँमा सडक बिग्रिएपछि अवरुद्ध बनेको यो कच्ची सडकमा केही दिन अघिदेखि मात्रै यातायात सुचारु भएको थियो । रासस

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत