दिपेन्द्र अधिकारी
भरतपुर । केन्द्रीय बस टर्मिनल भरतपुरलाई चितवनको नमुना आयोजनाको रुपमा लिइन्छ । दैनिक सयौंको संख्यामा बसहरु यस बसपार्क भएर पूर्व, पश्चिम र राजधानी आऊजाऊ गर्छन् । हजारौं यात्रुको आँखा पुग्ने यस बस टर्मिनलको अवस्था अहिले गएगुज्रेको बनेको छ ।
करोडौं लगानीमा निर्माण गरिएको यस बसपार्क अहिले लथालिङ्ग अवस्थामा छ । बसपार्क संचालनको जिम्मा लिएको ठेकेदार पक्षको लाचारीपनका कारण बसपार्क अभावै अभावमा गुज्रिएको छ ।
ओमशान्ति माइक्रो बस व्यवसायी यसको ठेकेदार पक्ष हो । बस टर्मिनलको ठेक्का अवधि सकिन एक वर्ष पनि नरहेको अवस्थामा बसपार्क झनै ध्वस्त र कुरुप हुँदै गएको छ । बसपार्कमा हाल देखिएको पानी, बिजुली र सरसफाइको समस्याबारे स्थानीय प्रशासन बेखबरजस्तै देखिएको छ ।
आधारभूत आवश्यकताको रुपमा लिइने पानीको सुविधा छैन । पानीको अभावमा अहिले यहाँका व्यवसायी र यात्रुहरु समस्यामा परेका छन् । पानी पिउनको लागि समस्या परेको छ । बोरिङबाट पानी तानेर वितरण गर्ने गरिए पनि अहिले बिजुली नहुँदा पानीको समस्या परेको व्यवसायीहरु बताउँछन् ।
केही दिनअघि बसपार्कमा रहेको बिजुलीको मेन स्वीच बक्स नै आगलागी भएको थियो । कर्मचारीहरुको गैरजिम्मेवारपनका कारण यस्तो घटना हुन पुगेको स्थानीय बताउँछन् । बिजुलीको अभावले गर्दा मैनबत्ती बालेर टिकट काट्नु परेको धौलागिरि यातायात व्यवसायी समितिका कर्मचारी यदु पौडेलले बताए ।
बिजुली नहुँदा भुइँतलाका व्यवसायीहरु मैनबत्ती बालेर रात कटाउन बाध्य छन् । त्यस्तै बाहिरी भागमा रहेको नौवटा शटरमा बिजुली छैन । बसपार्कभित्रको पोलमा रहेको बत्ती नबलेको एक महिना भइसक्यो । शटर भाडामा लिएर नियमित भाडा तिरे पनि सुविधा भने नपाएको व्यवसायीहरुको गुनासो छ ।
व्यवसायी रामचन्द्र लामिछानेले पटकपटक समस्याका बारेमा ठेकेदार पक्षलाई जानकारी गराए पनि कानमा तेल हालेर बसेको गुनासो गरे । साथै उनले प्रशासन कार्यालयमा पनि समस्याबारे जानकारी दिएको, तर कुनै काम नभएको बताए ।
चर्पीको अवस्था निकै नाजुक छ । चर्पीबाहिर नै दिसापिसाबको फोहोर देखिन्छ । गन्धका कारण यात्रुहरु नाक थुनेर दिसापिसाब गर्न बाध्य छन् । चर्पीको सरसफाइ जिम्मा लिएका नरेश राउतले पानीको अभावमा सफा गर्न नसकिएको बताए ।
त्यस्तै अन्य फोहोरहरु सडकछेउटमा थुप्रिएर रहेको अवस्थामा छ । फोहोर उठाउनका लागि नगरपालिकाले चासो नदिँदा यात्रुहरु नाक थुनेर बसपार्क भित्रबाहिर गर्न बाध्य छन् । संचालक पक्षका कर्मचारी दीनानाथ शर्माले भने समस्या समाधानका लागि पहल भइरहेको बताए ।
नगरपालिकाका कर्मचारी लीला खरेल सबै जिम्मेवार ठेकेदार पक्षको भएको भन्दै यसमा नगरपालिकाको कुनै जिम्मेवारी नरहेको बताउँछन् ।
chitwanpost
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत