नेपाल प्रहरीले शुक्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दै छ । जनपद प्रहरीमा चुस्ता (कम्ब्याट ड्रेस) विस्थापन गरी नीलो रङको नयाँ पोसाक लागू गर्न लागेको हो ।
अहिलेको चुस्ता नागरिक–मैत्री नभएको र सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो । जनतासँग प्रत्यक्ष मिलेर काम गर्नुपर्ने प्रहरीले चुस्ता लगाउँदा मैत्रीपूर्णभन्दा त्रासको भावना फैलने भन्दै प्रहरी प्रधान कार्यालयले गत वर्ष नै पोसाक परिवर्तन गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । वर्किङ ड्रेसअन्तर्गत गाडा नीलो पोसाक छ भने अपरेसनमा चुस्ता प्रयोग हुँदै आएको थियो । वर्किङ ड्रेस अहिलेकै कायम रहने र चुस्ता विस्थापन गर्न लागिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताए । चुस्ताको सट्टा सादा नीलो रङको पोसाक लागू हुनेछ ।
पहिलो चरणमा शुक्रबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ पोसाक लागू हुँदै छ । उपत्यकाबाहिर पनि बिस्तारै नयाँ पोसाक लागू हुने प्रहरी प्रवक्ता डिआइजी जोशीले जानकारी दिए ।
बजेट अभावका कारण महानगरीय प्रहरीभित्र मात्र पोसाक परिवर्तनको निर्णय पहिलो चरणमा लागू गर्न लागिएको हो । प्रहरी दिवसको अवसर पारेर उपत्यकामा पोसाक परिवर्तन गर्न लागिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले शुक्रबार ५९औँ प्रहरी दिवस मनाउँदै छ ।
गण र गुल्ममा काम गर्ने प्रहरीका लागि भने चुस्ता पोसाक नै लागू हुन्छ । गण तथा गुल्मका प्रहरीले भीड नियन्त्रणजस्ता काम गर्ने भएकाले त्यसका लागि चुस्ता नै ठीक हुने प्रहरी अधिकारीहरू बताउँछन् । ‘अब ड्रेसका आधारमा गण/गुल्म र अन्यत्र काम गर्ने प्रहरी सजिलै चिनिन्छन्,’ प्रहरी प्रवक्ता डिआइजी जोशीले भने ।
द्वन्द्वकालभन्दा पहिला प्रहरीमा सामान्य डिउटीमा काम गर्ने प्रहरीले चुस्ता लगाउने गरेका थिएनन् । द्वन्द्वकालमा चुस्ताको प्रयोग सुरु भएको थियो । शान्तिप्रक्रिया सुरु भएयता नै पोसाक परिवर्तनका लागि प्रस्ताव आए पनि आठ वर्षपछि मात्र हटाइएको हो ।
मौसमका हिसाबले पनि चुस्ता उपयुक्त नभएको प्रहरी अधिकारीहरू बताउँछन् । गर्मी महिनामा चुस्ता लगाएर काम गर्न निकै कठिन हुने उनीहरूको भनाइ छ । तराईमा गर्मी महिनामा चुस्ता लगाएर काम गर्न प्रहरीलाई निकै कठिन थियो ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत