प्रधानमन्त्री सुशील कोइराला र सत्तासाझेदार एमालेका अध्यक्ष केपी ओलीबीच भनाभन भएको छ । ओलीले सरकार छाड्नेसम्मको चेतावनी दिए भने कोइरालाले ‘सरकार छाडे पनि फरक नपर्ने’ जवाफ फर्काएका थिए ।
प्रधानमन्त्री कोइरालाले एमालेको भागमा परेको भूमिसुधार मन्त्रालयले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग र त्यसमातहत देशभर बनाइएका समितिहरू विघटन गर्ने तयारी गरेपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका हुन् । प्रधानमन्त्री कोइराला ‘ब्याक’ भएपछि तत्कालका लागि विवाद साम्य भएको थियो ।
प्रधानमन्त्री कोइरालाले बिहीबार बोलाएको मन्त्रिपरिषद् बैठकमा आयोग विघटनको प्रस्ताव ल्याउने तयारी गरेका थिए । यो कुरा थाहा पाएपछि एमाले मन्त्रीहरू बैठक बहिष्कार गरेर सिंहदरबारस्थित संसदीय दलको कार्यालय आएका थिए । उनीहरूले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावललाई त्यसको जानकारी गराएका थिए ।
दलको कार्यालयबाटै अध्यक्ष ओलीले प्रधानमन्त्री कोइरालालाई फोन गरेर आयोग र देशभरका समितिहरू विघटन नगर्न आग्रह गरेका थिए । तर, कोइरालाले ‘एमालेले आयोग गठनमा मनपर्दी गरेको’ भन्दै विघटन नै गर्ने जवाफ फर्काएपछि दुईजनाबीच चर्काचर्की सुरु भएको थियो ।
फोन संवाद हुँदा दलको कार्यालयमै रहेका एक एमाले मन्त्रीका अनुसार ‘तपाईंको एकलौटी चल्दैन’ भन्दै ओलीले प्रधानमन्त्री कोइरालालाई हप्काए । जवाफमा कोइराला पनि कडा ढंगले प्रस्तुत भए । ‘सबै समितिहरू जसरी पनि खारेज गरेरै छाड्छु’ ती मन्त्रीका अनुसार कोइरालाले एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काए ।
प्रधानमन्त्रीको जवाफले ओली थप आक्रोशित बने । आयोग र समितिहरू विघटन गरिए एमाले सरकारबाट बाहिरिने चेतावनी उनले कोइरालालाई दिए । ‘तपाईंले त्यस्तो लिँडेढिपी गर्ने हो भने हामी सरकारमा बस्दैनौँ, आजैदेखि छाड्छौँ, तपाईं एक्लै चलाउनुस्,’ ओलीले कोइरालालाई चेतावनीपूर्ण भाषामा भने ।
सत्तासाझेदार दलका अध्यक्ष ओलीको धम्कीले पनि प्रधानमन्त्री कोइराला गलेनन्, बरु थप आक्रोशित बने । एमालेले सरकार छाडे पनि आफूलाई फरक नपर्ने उनले जवाफ फर्काए । ‘सरकार छोडे छोड्नुस् मलाई फरक पर्दैन,’ ओलीलाई कोइरालाको जवाफ थियो ।
त्यसपछि ओलीले बिहीबारबाटै एमाले सरकारबाट बाहिरिने बताएका थिए । ‘त्यस्तो कुरा गर्नुहुन्छ भने हामी आजै सरकारबाट बाहिरिन्छौँ, हाम्रा मन्त्रीहरू आउँदैनन्, तपाईं एक्लै चलाउनुस्,’ अध्यक्ष ओलीले आक्रोशित हुँदै कोइरालालाई भने । प्रधानमन्त्री कोइरालाले पनि ‘ठीक छ’ भन्ने आशयको जवाफ फर्काएर फोन राखेका थिए ।
प्रधानमन्त्री र ओलीबीच फोन संवाद हुँदा एमालेका सबै मन्त्री दलको कार्यालयमै थिए । एमाले उपाध्यक्ष भीम रावलले पनि कांग्रेसका अन्य वरिष्ठ नेताहरूलाई फोन गरेर कोइरालालाई सम्झाउन आग्रह गरेका थिए । स्रोतका अनुसार उनले ‘प्रधानमन्त्रीको दादागिरी आफूहरूले नसहने बरु सरकारबाट बाहिरिने’ चेतावनी कांग्रेस नेताहरूलाई दिएका थिए ।
प्रधानमन्त्री ‘ब्याक’ भएपछि मन्त्रिपरिषद्
प्रधानमन्त्री सुशील कोइराला सुकुम्बासी समस्या समाधान आयोग र त्यसमातहतका समितिहरू विघटन गर्ने निर्णयबाट ‘ब्याक’ भएपछि सत्ताधारी दलहरूबीचको विवाद मिल्यो । चर्काचर्की परेको करिब एक घन्टापछि कोइरालाले एमाले अध्यक्ष ओलीलाई फोन गरेर आयोग विघटन गर्ने कार्य तत्काललाई थाती राख्ने बताएका थिए ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका अनुसार प्रधानमन्त्री कोइराला र ओलीबीच समिति गठनसम्बन्धी विवाद राजनीतिक रूपमा छलफल गरेर टुंगोमा पुग्ने सहमति भएको छ ।
प्
रधानमन्त्री कोइराला पछि हटेपछि ओलीले आफ्ना मन्त्रीहरूलाई मन्त्रिपरिषद् बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । दिउँसो सवा १२ बजेदेखि बैठक सुरु भएको थियो ।
बिहान १० बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा भाग लिन एमाले मन्त्रीहरू समयमै प्रधानमन्त्री कार्यालय पुगेका थिए । तर, प्रधानमन्त्री कोइरालाले आयोग र त्यसमातहतका समितिहरू विघटनको प्रस्ताव ल्याउने तयारी गरेको थाहा पाएपछि उनीहरू बैठकमा नबसी बाहिरिएका थिए ।
आयोग गठनमा एमालेले एकलौटी गरेर आफ्ना कार्यकर्ता भर्ती गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री कोइरालाले कांग्रेस मन्त्रीहरूसित अनौपचारिक छलफल गरेका थिए ।
त्यसलगत्तै मन्त्रिपरिषद्को औपचारिक बैठकको तयारी भयो । तर, एमालेका नौजना मन्त्री हिँडेपछि बैठक बस्न सकेन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम भने चीन भ्रमणमा छन् ।
‘प्रधानमन्त्रीले नै बैठकमा आयोग खारेजीको ठाडो प्रस्ताव ल्याउने गृहकार्य गरेको संकेत पाएकाले हामी बाहिरिएका हौँ,’ सामान्य प्रशासनमन्त्री पण्डितले भने । एमाले मन्त्रीहरूले आयोग गठन खारेज गर्ने भए प्रधानमन्त्री र मन्त्रिपरिषद्ले यसअघि गरेका सबै निर्णय खारेज गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत