Tuesday, October 7, 2014
‘झोलेकर्मी’ बन्दै पिएसओ
काठमाडौं, असोज २२
नेताहरूको सुरक्षामा पिएसओका रूपमा खटाइने सुरक्षाकर्मीलाई पछिल्लो समय ‘झोलेकर्मी’को संज्ञा दिने गरिएको छ। नेताको झोला बोकेर पार्टी कार्यकर्ताजस्तो बनेर हिँड्ने गरेकाले पिएसओ सुरक्षाकर्मीलाई झोलेकर्मीको संज्ञा दिन थालिएको हो।
आजको नयाँ पत्रिकामा छापिएको समाचारमा अगाडि भनिएको छ- प्रहरी अधिकारीहरूका अनुसार मन्त्री, नेता तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाउने प्रक्रियामा त्रुटि छ। तालिम र अनुभवका आधारमा नभई व्यक्तिगत चिनजानका आधारमा प्रहरी अधिकारीहरू नेताको सुरक्षामा खटिने गरेका छन्।
‘मन्त्री भएपछि अधिकांशले आफन्त तथा चिनजानको प्रहरीलाई पिएसओका रूपमा राख्ने गरेका छन्,’ नेपाल प्रहरीको सुरक्षा सेवा निर्देशनालयका एक अधिकारी भन्छन्, ‘भिआइपी सुरक्षाबारे केही थाहा नभएका प्रहरीसमेत सोर्सफोर्सकै आधारमा खटिने गरेका छन्।’ कतिपय प्रहरीलाई नियमित तालिम नहुँदा पेस्तोलसमेत राम्रोसँग चलाउन नआउने दाबी अधिकारीहरूको छ।
चिनजानका आधारमा पिएसओ हुनेहरू वर्षाैँसम्म एउटै व्यक्तिको सुरक्षामा खटिने गरेका छन्। यो प्रवृत्ति भिआइपी सुरक्षामा निकै गलत भएको पनि प्रहरी अधिकारीहरू बताउँछन्।
सुरक्षा दृष्टिकोणले पिएसओलाई ६ महिना वा एक वर्षमा परिवर्तन गर्नुपर्ने हुन्छ। तर, प्रहरी तथा सेनाले यो नियम पालना गर्ने गरेका छैनन्। ‘यसरी मनलाग्दो रूपमा पिएसओ दिँदै जाने हो भने भिआइपी सुरक्षा भगवान् भरोसा नै हुन्छ,’ एक उच्च प्रहरी अधिकारीले भने।
सुरक्षा सेवा निर्देशनालयका प्रमुख डिआइजी सुशीलबरसिंह थापाले पनि पिएसओहरू ६ महिना वा एक वर्षमा परिवर्तन गर्नुपर्ने बताए। तर, नियम कार्यान्वयन गर्न आफूहरू सफल नभएको उनी बताउँछन्।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत