Tuesday, October 7, 2014

आफ्नै बोर्डिङ स्कुल छोराछोरी अन्तै भर्ना

   सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाएर बोर्डिङमा पढाउने गरेको आरोप लाग्ने गरेको छ। तर, उपत्यकाका केही निजी विद्यालय सञ्चालकले समेत आफ्नै बोर्डिङ स्कुल हुँदाहुँदै छोराछोरीलाई अन्यत्रै पढाउने गरेका छन्। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

बोर्डिङ स्कुलका केही सञ्चालक तथा प्रिन्सिपलले आफ्ना छोराछोरीलाई नियन्त्रणमा राख्न नसकेर तथा गुणस्तरका लागि भन्दै अन्यत्र पढाउने गरेका हुन्। उनीहरूले सोर्सफोर्स लगाएर भए पनि अरू बोर्डिङ स्कुलमा पढाउने गरेका छन्।

प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले छोरालाई अन्यत्र पढाएका छन्। मैतीदेवीस्थित सूर्योदय ज्योति हाइस्कुलका प्रिन्सिपल केसीले छोरालाई युलेन्स स्कुलमा कक्षा आठमा पढाइरहेका छन्।

प्याब्सनका पूर्वमहासचिव तथा एम्स एकेडेमीका प्रिन्सिपल टिआर ढकालले एउटा छोरालाई आफ्नै स्कुलमा कक्षा १२ मा र अर्को छोरालाई सेन्ट जेभियरमा कक्षा पाँचमा पढाएका छन्। एम्स एकेडेमीमा विद्यार्थीलाई व्यक्तिगत रूपमा ‘केयर’ गरेर पढाइने भए पनि बाबुआमा प्रिन्सिपल भएको फाइदा छोराछोरीले लिन खोज्ने भएकाले अर्को स्कुलमा भर्ना गरेको ढकालले बताए।

‘अरू विद्यार्थीसरह भएर स्कुलमा आउनुपर्नेमा त्यसो भएन, सुधार नभएपछि अरू स्कुलमा भर्ना गरिदिएँ,’ ढकालले भने, ‘बच्चाहरूले टिफिन ल्याउनुपर्ने, होमवर्क गर्नुपर्नेमा त्यसको फाइदा लिन खोज्दा रहेछन्।’ कोही व्यक्ति पेसागत रूपमा सक्षम भए पनि पारिवारिक रूपमा कोमल तथा नरम हुँदा फरक पर्ने गरेको उनको भनाइ छ।

यसैगरी, ललितपुरको निहारिका पब्लिक स्कुलकी प्रिन्सिपल जमुना महर्जनले छोरीलाई शुभतारा स्कुलमा भर्ना गराएकी छिन्। सांग्रिला इन्टरनेसनल स्कुलका प्रिन्सिपल दीपक महर्जनले पनि एउटा सन्तानलाई जेम्स र अर्कोलाई सेन्ट जेभियरमा पढाइरहेका छन्।

ललितपुरका प्याब्सन सचिव तथा ज्ञानशिखा स्कुलका प्रिन्सिपल रामबाबु अधिकारीले छोरालाई सेन्ट जेभियर्समा पढाइरहेका छन्। हेरिटेज स्कुलकी प्रिन्सिपल चन्दा रावलकी छोरी जेम्स स्कुलमा पढ्छिन्।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत