Saturday, October 11, 2014

'हिम्मतवाली', 'दानव' र 'ब्याङब्याङ'



निर्देशन : रेखा थापा

कलाकार : रेखा थापा, सुदर्शन गौतम, अभय चन्द तथा पुष्कर भट्ट ।

संगीतकार : वसन्त सापकोटा र टंक बुढाथोकी

अभिनेत्री रेखा थापाको डेब्यु निर्देशनको चलचित्र 'हिम्मतवाली' को सार्वजनिक प्रदर्शन दसैंको फूलपाती (असोज १५) गते प्रारम्भ हुँदैछ । आफ्नै लगानीको यो चलचित्रमा रेखाले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा रेखालाई नायक सुदर्शन गौतमले साथ दिएका छन् । अभिनेता गौतमलाई दुवै हात नभएका विश्वकै पहिलो नायक भएको दाबी गरिएको छ । यसअघिको चलचित्र 'लंका' ले व्यावसायिक सफलता पाएपछि रेखाले आफ्नै ब्यानरमा 'हिम्मतवाली' निर्माण गरेकी हुन् । यो चलचित्रमा रेखाले पुन: एकपटक आफूलाई एक्सन-लेडीका भूमिकामा प्रस्तुत गरेकी छिन् । चलचित्रमार्फत मानिस शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा सुन्दर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको बताइन्छ । अधिकांश छायांकन पश्चिम नेपालमा गरिएको यो चलचित्रका लागि रेखाले द्वन्द्वका डरलाग्दा दृश्य दिएकी छिन् । चन्द्र पन्त द्वन्द्व निर्देशन गरेको यो चलचित्रका छायांकार रामशरण उप्रेती हुन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ । सेन्सर बोर्डले पिजी अर्थात् १६ वर्षमुनिका बालबालिकाले अभिभावकसँग हेर्नुपर्ने प्रमाणपत्र दिएको यो चलचित्रले अपांगता भएका दर्शकलाई २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।



निर्देशक : दिनेश शर्मा

कलाकार : दिनेश शर्मा, महिमा सिलवाल, सगुन श्रेष्ठ, दिनेश केसी तथा सुवास कार्की ।

संगीतकार : वसन्त सापकोटा

अभिनेता दिनेश शर्माले निर्देशकका रूपमा डेब्यु गरेको चलचित्र 'दानव' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । मुख्य भूमिकामा प्रस्तुत भएका शर्मा यो चलचित्रका निर्माता पनि हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि शर्माले नै तयार पारेका हुन् । पछिल्लो समय टेलिश्रृंखलाहरूमा प्राय: नकारात्मक भूमिका निर्वाह गरिरहेका दिनेश लामो समयपछि चलचित्रमा देखा पर्न लागेका हुन् । करण क्रेजी श्रेष्ठले देशव्यापी वितरण गर्न लागेको यो चलचित्र एक्सनप्रधान छ । रक्षन्दा फिल्म प्रोडक्सनको यो चलचित्रलाई रजनी शर्मा तथा दक्ष शर्माले निर्माण गरेका हुन् । यो चलचित्र समाजमा हुने मानव तथा दानवमध्ये समाजलाई बिगार्ने दानवको अन्त्य हुनैपर्छ भन्ने विषयमा केन्दि्रत छ । यो चलचित्रमार्फत विकृतिरहित समाज निर्माणका लागि पनि दानव प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । रामनारायण चौधरी तथा दिव्य सुवेदीको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशनको चलचित्र दानव देशभरिका करिब तीन दर्जन सिनेमा हलमा प्रदर्शन हुनेछ । यो चलचित्रको छायांकन पश्चिम नेपालको कन्चनपुर आसपासमा गरिएको हो ।



निर्देशक : सिद्धार्थ आनन्द

कलाकार : ऋतिक रोशन, कट्रिना कैफ, डेनी डेञ्जोम्पा तथा जावेद जाफरी ।

संगीतकार : विशाल शेखर

आगामी बिहीबार अर्थात् महाअष्टमीका दिनदेखि विश्वव्यापी प्रदर्शनमा आउने 'ब्याङब्याङ' हलिउड चलचित्र 'नाइट एन्ड डे' को आधिकारिक हिन्दी रिमेक हो । फक्स स्टार स्टुडियो तथा निर्देशक सिद्धार्थ आनन्दको कुरामा विश्वास गर्ने हो भने यो चलचित्रको रोमाञ्चक एक्सनले दर्शकलाई आँखा झिम्क्याउन दिनेछैन । एक सेक्रेट एजेन्टको जीवन कथा बोल्ने यो चलचित्रमा अन्तर्राष्ट्रिय स्तरको एक्सन छ । बलिउडमा स्टाइलिस नायकको छवि बनाएका ऋतिक रोशनले चलचित्रमा सेक्रेट एजेन्टको भूमिका निर्वाह गरेका छन् । चलचित्रको कथाको थालनी एउटी सोझी बैंक रिसेप्सनिष्ट हरलिन साहनी (कट्रिना) तथा एक आकर्षक तर रहस्यमय स्वभावका व्यक्ति राजवीर नन्दा (ऋतिक) को आकस्मिक भेटबाट हुन्छ । संयोगले भएको उक्त भेटघाटका क्रममा धुवांधार गोलीबारी पनि हुन्छ तर राजवीरसँग देश-विदेशको लामो यात्रा गरेपछि हरलिनलाई राजवीर राम्रा व्यक्ति हुन् भन्ने आभास हुन्छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत