Saturday, October 18, 2014

बौलाहा कुकुरले टोकेर एकै गाँउका तेह्रजनाको मृत्यु





         कुकुरले टोक्दा पनि झारफुककै भर जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ। 

स्थानीय बासिन्दा हरिबहादुर शाहीले दिएको जानकारी अनुसार,बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलोमात्रामा क्षति भएको हो। 

सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर उनिहरु स्वास्थ्यचौकीमा गएका थिएनन्। तर, कुकुरले टोकेका मानिसहरुको मृत्यु भएपछि झारफुकबाट निको नहुने ठानेर रेविजविरुद्धको सुई लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ। 

बहुलाहा कुकुरको टोकाइबाट मजकोट गाविस वडा नं ६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, वडा नं ५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले बताए। 

स्थानीय बासिन्दाका अनुसार, बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको छन्। 

जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भने, ‘धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुपर्‍यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो।’ 

मान्छे र चौपाया टोक्दै हिडेको बहुलाहा कुकुरलाई अझै नियन्त्रणमा लिइएको छैन। 

‘यति ठूलो घटना घट्यो, मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ,’ महिसरी उपाध्यायले दुखेसो पोखिन्। 

आफ्नो गाउँमा बहुलाएको कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर सरोकारवाला निकायलाई जानकारी दिदाँ कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ। 

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ। यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिए। रासस

जाजरकोट (आलीमैगान), कात्तिक १ 

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत