बझाङको तल्कोट क्षेत्रस्थित दाँतोला गाविसकी एक १३ वर्षीया बालिकालाई तानेर विवाह गर्न खोज्ने एक युवक जेल पुगेका छन् ।
बझाङ जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञावलीको एकल ईजलासले बालिकालाई तानेर पत्नी बनाउन खोज्ने रिलु गाविस–२ घर भएका २८ वर्षीय धनबहादुर बोहरालाई बिहीबार जेल चलान गर्ने आदेश दिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।
असोज पहिलो साता धुरीकाँडा जङ्गलमा बाख्रा चराउन गएकी ती बालिकालाई गाउँकै धन बहादुरले तानेका थिए । पीडित बालिकाले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा करणी उद्योग अन्तरगत उजुरी दिएर अदातलमा मुद्दा दर्ता भएपछि धनबहादुरलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धानपछि आवश्यक प्रमाण जुटाएर अदालतमा पेश गरेकोमा कारागार चलान गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले बताए ।
घटना गाँउमै मिलाउन खोजिए पनि बालिका न्याय खोज्दै सदरमुकाम आएपछि अदातलमा मुद्धा चलेको थियो । सदरमुकामबाट एकदिन पैदल दूरीको दाँतोलामा यसअघि पनि यस्ता घटना हुने गरेका छन् ।
जिल्लाका विकट दाँतोला, रिलु, मष्टा, चौधारी, मौलाली, सैनपसेला , लेकगाँउ, दौलीचौर सुनिकोट, भैरनाथ, सुर्मा र बुंगलक्षेत्रमा केटीको मञ्जुरी नलिई केटाहरुले जवरजस्ती तानेर विवाह गर्ने प्रचलन अझै छ ।
गाँउले र दलका नेताहरुले बालिकालाई एक लाख रुपैयाँ दिएर मिलाउन खोजेपनि पीडित पक्षले नमानेपछि यो घटना सार्वजनिक भएको थियो । गत वर्षपनि चौधारी गाविसकी एक युवतीलाई तानेर विवाह गर्न खोज्ने चौधारी गाविसका सात युवालाई सार्वजनिक मुद्दा लगाएर धरौटीमा छाडिएको थियो । जिल्लामा तानेर विवाह गर्न खोज्नेलाई करणी उद्योग सम्वन्धी मुद्दामा कारबाही गर्न सके यस्ता घटनामा कमी आउने महिला अधिकार रक्षक मञ्चकी अध्यक्ष उमा केसीले बताइन् ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत