काठमाडौं,चैत १३ – सरकारले सरसफाइ दूतको रुपमा हाँस्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीलाई नियुक्त गरेपछि सरसफाइ अभिनायले तीव्रता पाएको छ । यसै सिलसिलामा शुक्रबार राजधानीमा एक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलको प्रमुख आतिथ्यतामा ललितपुर जिल्लाको एकान्तकुनादेखि सातदोबाटोसम्म भएको सरसफाइ कार्यक्रममा विभिन्न संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
‘सबै जनता, सबै दल, सरसफाइमा लगाऊँ बल’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रम भएको थियो । प्रतिभा बहुद्देश्यीय सरकारी संस्था लिमिटेड र गणेशमान सिंह मेमोरियल हस्पिटलद्वारा आयोजित सरसफाइ कार्यक्रममा हाँस्यटेलिश्रृखंला मेरी बास्सैका सुमन ज्योती मगर ‘ल्याङग्री दादा’,कल्याण राई ‘ठूलामुख’ र लेखान्त भूषाललगायत कलाकारहरु उपस्थित थिए ।
कार्यक्रमा नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले सरसफाइ अभियानलाई सबै क्षेत्र र स्थानमा पुर्याउनु पर्ने आवश्यकतामा जोड दिँदै यसमा सहभागी बन्न सबैलाई आग्रह गरे । सरसफाइलाई जोड दिएर नै उपत्यकालाई पोलिथिन झोलामुक्त बनाउन लागिएको र ललितपुर जिल्लालाई पहिलो पूर्ण सरसफाइ जिल्ला घोषणा गर्ने जानकारी पनि उनले दिए ।
सरकारले यस्तो घोषणा गरेसँगै धुर्मुस र सुन्तलीले सरसफाइका विभिन्न कार्यहरु गर्दै आएका छन् । ‘हामीले देशको जुनसुकै जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा विभिन्न कार्यक्रम लिएर जाने गथ्र्यौं । सरसफाइको कुरा पनि गथ्र्यौं ।
सबै जनाले रुचाइदिनु पनि हुन्थ्यो । त्यसैले नै होला सरकारले हामीलाई सरसफाइको कार्यमा अझ सहयोग मिल्ने भएकोले दूतमा घोषणा गरेको छ र हामीले यसलाई अगाडि बढाइरहेका छौं’, धुर्मुसले सरसफाइ अभियानका बारे जानकारी दिँदै भने । धुर्मुसले सरकारले विश्वास गरेर सरसफाइ दूत बनाएकाले त्यो जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उक्त अवसरमा व्यक्त गरे ।
www.ratopati.com