Tuesday, October 14, 2014

जनकवि केशरी धर्मराज थापाको निधन


२८ असोज, काठमाडौ । 
          जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि उनको शव मंगलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।

बिक्रम संवत १९८१ साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाका थुप्रै गीत चर्चित छन् । हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता गीत गाएका थिए ।

उनका प्राय गीतमा गाउँको जनजीबन भेटिन्थ्यो । गाउँ ठाउँका शब्दहरु बटुल्दै उखान टुक्का जोडेर गीत बनाउन सिपालु थापा गाउँका स्रोताका विचमा चर्चित थिए तत्कालिन समयमा । जनताका गायकका रुपमा लोकप्रिय हुँदै गएका थापालाई २०१३ सालमा राजा महेन्द्रले जनकवि केसरीको उपाधि दिएका थिए ।

सारंगीलाई संसार चिनाएका थिए

नेपालको मौलिक बाजा सारंगीलाई विश्वमा परिचित गराउने ब्यक्ति थापा नै हुन् । नेपाली लोक संगीत, लोक संस्कृति र लोकजीबनको अध्ययनमा जुटेका थापा गीत खोज्नकै लागि गाउँ गाउँ धाएनन् मात्रै लोकसंगीतको प्रचारमा समेत जुटे । गन्धर्व संस्कृतिलाई मुलुकभर चिनाउन पनि धापाको योगदान थियो ।

राजनीतिक आन्दोलन

जनकबि भनेर चिनिने थापा क्रान्तिकारी पनि थिए । तत्कालीन सामन्ती संस्कार विरुद्ध उनले आन्दोलन गरे वापत जेल समेत परे । २००८ सालमा कर्मचारीलाइ उक्साएर हडताल गरेको अभियोगमा गोरखापत्रको मुखिया पदको उनको जागीर खोसुवामा परेको थियो ।

उनि डाक्टर के आइ सिंहले गरेको बिद्रोहमा पनि सहभागी थिए । सिंहको बिद्रोहमा सरिक भएको अभियोगमा तत्कालिन सरकारले उनलाइ ३० दिन जेल हालेको थियो । जेलवाट छुटेपछि भारतको देहरादुन, आसाम, दार्जीलीङ, सिक्किम लगायतका ठाउँमा लोक गीत खोज्दै गाएका पनि थिए ।

सोही क्रममा उनले कलकत्तामा रहेको एचएमभी कम्पनिमा धुरुधुरु नरोउ आमा, झमझम परेली, हाम्रो तेन्जिङ शेर्पाले लगायतका गीत गाएका थिए ।

सम्मान पुरस्कार

थापाको ‘मालती मंगले’ काब्यलाई मदन पुरस्कार गुठीले २०२५ सालको साहित्य तर्फको मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै ०५७ सालमा मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको थियो । इमेज लाइफटाइम लगायत उनले थुप्रै संघसंस्थाबाट पुरस्कार पाएका छन् भने १ सय भन्दा बढी गीत रेकर्ड गराएका छन् ।

लोक साहित्यसंग सम्बन्धित उनका २९ वटा कृति प्रकाशित छन् । थापाका गीत, कबिता, संस्मरण र लोक गीत लोकसंस्कृत संग सम्बन्धित थुप्रै लेख प्रकाशित छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत