दाङ, कात्तिक १६
उनीहरुसँग केही छैन। न ओत लाग्ने छानो, न भरपेट दुईछाक खाने मानो। न खेतबाली, न भकारी। न सरकारी राहतै। साउन २९ को बबई नदीको बाढीले सबै सोहोरेर नांगेझार पारिदिए पनि मन भने लैजान सकेन।
उरहरी–६, मोतिपुरका विस्थापित ५९ परिवार अहिले त्यही मन बाँडेर ज्यानको बाजी लगाउँदै जीवन बचाइदिने स्थानीयलाई 'ऋण' तिरिरहेछन्।
...
आजको नागरिक दैनिक अगाडि लेख्छ- मध्यरातको समय, मस्त निन्द्रा। दिनरातको वर्षाले उर्लिएको छेवैको बबई नदी घरै सोहोर्ने गरी बस्ती छिर्योइ। 'गुहार–गुहार' कोलाहल र चित्कारले गाउँ नै रन्कियो। झल्याँस्स ब्युँतँदा आफू सुतेको घर आधा डुबिसकेको रहेछ। धन्न! गाउँलेले ज्यानको बाजी लगाएर उनीहरुलाई बाढीबाट निकाले। प्रयास गर्दागर्दै केहीको मात्र ज्यान बच्न सकेन।
साउन अन्तिमको बबई बाढीबाट जोगाउने गाउँलेको गुण बाढीपीडितले कसरी बिर्सन सक्छन् र? उरहरी–६, मोतिपुरका बाढीपीडित अहिले त्यही गुणको 'ऋण' तिर्न संगठित भएर जुटिरहेका छन्।
‘हामीलाई बाढीबाट जोगाएर गाउँलेले ठूलो गुण लगाउनुभयो,' बाढीपीडितका अगुवा धनवीर चौधरी भन्छन्, ‘त्यो गुण तिर्न उहाँहरुको काममा सघाउन थालेका हौं।'
अचेल बाढीपीडितहरु छिमेकीका खेत–खेतमा भेटिन्छन्। छिमेकीलाई सघाउन उनीहरु दिनहुँ जुटिरहेका छन्। ‘धान काट्न सघाइरहेका छौं,' अर्का पीडित जागुराम चौधरी भन्छन्, ‘सबै मिलेर धान काट्दा धेरै सजिलो भएको छ।'
बाढीपीडितले एक/एक घन्टा पालैपालो छिमेकीलाई धान काट्न सहयोग गरिरहेको उनले बताए। एउटा छिमेकीको खेतमा एक घन्टा धान काटेपछि उनीहरु अर्को छिमेकीको खेतमा पुग्छन् र एक घन्टा सघाउँछन्।
मोतिपुरका बाढीपीडित 'बाढीपीडित व्यवस्थापन समिति' नै गठन गरेर सामूहिक कार्यमा जुटेका हुन्। छिमेकमा आइपर्ने समस्यामा हातेमालो गर्दै आएका उनीहरु काम गरिदिएबापत पैसा लिँदैनन्।
‘हामीले मजदुरी होइन, सहयोग गरेका हौं,' समितिका अध्यक्षसमेत रहेका धनवीर भन्छन्, ‘सहयोग गरेको के पैसा लिनू?'
सघाउने समय र व्यक्तिको तय समितिले नै गर्छ। त्यसका लागि नियम बनाइएको छ। एक–एक घन्टा धान काट्न सघाउने पनि समितिकै नियम हो। छिमेकीलाई गुण तिर्दा आफ्नो पीडासमेत भुल्न सजिलो भएको उनीहरुको अनुभव छ।
धनवीरसँग अहिले केही छैन। भएको सम्पत्ति साउन २९ गते रातिको बाढीले लग्यो। बाससँगै साँझ–बिहानको छाकको चिन्ताले पीडितलाई दिनहुँ सताइरहन्छ। तैपनि उनीहरु आफ्नो समस्यालाई मात्र महŒव दिँदैनन्। गाउँघरमा आइपर्ने हरेक समस्यामा उनी अग्रसर हुन्छन्।
गाउँमा कसैलाई समस्या परेको खबर सुन्नासाथ पीडितहरुको हुल नै घर–घर पुग्छ। सबै मिलेर काम फत्ते पारिदिन्छन् र ‘केही पर्योर भने खबर गर्नुहोला' भन्दै फर्कन्छन्।
‘गाउँसमाज सधैं चाहिने रहेछ,' धनवीर सुनाउँछन्, ‘हाम्रो पीडामा यही समाज मलम बन्यो, अब हामी पनि समाजको घाउमा मलम बन्नुपर्छ।'
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत